ययाती: भोग र बैरागबीचको कथा

यो भोग र बैरागबीचको कथा हो।

विश्वविजेता राजा ययातीले भर्खरै आफ्नै रानीकी सुसारे शर्मिष्ठाको दाहिने हात समातेको छ। आफ्नै सुसारे सौता भएपछि महारानी देवयानीले क्रुद्ध भएर दरबार छाडेकी छे । देवयानीका पिता दैत्यगुरू शुक्राचार्यबाट सम्राट ययातीले श्राप पाएको छ, घाम अस्ताएसँगै बुढो हुने। ययाती पुत्र पुरु आश्रममा शिक्षा ग्रहण र विवाह पश्चात आफ्नी नवबधुलाई लिएर पहिलो पटक दरबार आउँदैछ।

ययाती भोग र मोहका प्रतिनिधि हो। अर्कातिर पुत्र पुरु छ, भर्खरै ब्रम्हचर्य सकिए पनि बैरागको प्रतिनिधि।

नाटक ‘ययाती’ यही भोग र बैरागबीचको कथा हो।

शील्पी थिएटरको गोठाले नाटक घरमा नाटक ययातीको प्रदर्शन सुरु भएको छ। यो नाटक प्रसिद्ध भारतीय नाटककार गिरीश कर्नाडले लेखेका हुन्। प्रज्ञा थिएटरले प्रस्तुत गरिरहेको यो नाटकको निर्देशन टंक चौलागाईंले गरेका हुन्।

आजकल टंक चौलागाईंको ध्यान भारतीय नाटककारका पौराणिक नाटकमा गइरहेको छ। यसअघि उनले यही नाटकघरमा भिष्म सहनीको नाटक ‘माधवी’ देखाएका थिए। ‘माधवी’ले दर्शकहरुबाट अपूर्व प्रेम पाएको थियो। नाटकघर लगातार ‘फूल हाउस’ भएको थियो। त्यही सफलताबाट उत्साही भएर पनि हुनसक्छ, उनी अर्को पौराणिक नाटक लिएर आएका छन्।

तीन उपन्यास लेखिसकेका निर्देशक चौलागाईंको यसपटकको छनोटमा पनि भिन्नभिन्न विधामा नाम कमाएका नाटककार परेका छन्।

फिल्म पारखीहरुले गिरीश कर्नाडको नाम नसुन्ने कुरै आउँदैन। फिल्म पारखीका लागि उनी चलचित्र निर्देशक हुन्, अभिनेता पनि। दक्षिण भारतीय कन्नड फिल्मदेखि बलिउडसम्म उनको नाम फैलिएको छ। ‘इकबाल’, ‘जीवन मुक्त’, ‘गोधुली’, ‘उत्सव’ जस्ता फिल्मले कर्नाडलाई सधैं सम्झाइरहन्छन्। तर, नाटक उनको दोस्रो विधा हुँदै होइन। नाटक पारखीका लागि उनी पहिले नाटककार हुन्, अनि मात्रै निर्देशक वा फिल्म अभिनेता। नाटक उनको दोस्रो विधा हुन्थ्यो भने उनका नाममा ‘ययाती’जस्ता चर्चित दश नाटक हुने थिएनन्।

रोहेज खतिवडा

यही नाटकलाई निर्देशक चौंलागाईंले नेपाली मञ्चमा प्रस्तुत गरिरहेका छन्। यसको अनुवाद उनले आफैं गरेका हुन्।

यो कथाको मुख्यस्रोत महाभारत हो। अरु विभिन्न पुराणहरुमा पनि ययातीको चर्चा भेटिन्छ। ययातीको संसारिक जीवन मोह, यौवनप्रतिको अतिशय कामना, दिग्विजय आदिबारे पुराणहरूमा फरकफरक किसिमले उल्लेख छ।

नाटक सुरु हुन्छ सुवर्णालता र महारानी देवयानीको संवादबाट। देवयानीको सुसारे सुवर्णलता रोइरहेकी हुन्छे। अर्की सुसारे शर्मिष्ठाले उसलाई बिझ्ने गरी केही भनेको भान हुन्छ। खासगरी महाराज ययातीसँग नाम जोडेर केही भनेको हुनसक्छ भन्ने संवादबाट बुझिन्छ। सुवर्णलता मञ्चबाट बाहिरिनेबित्तिकै शर्मिष्ठा त्यहाँ आइपुग्छे। उसको रानी देवयानीसँग निकै नराम्रोसँग झगडा हुन्छ।

शर्मिष्ठाले रानीलाई निकै नराम्रोसँग घोचपेच गर्छे। राजा ययातीले उसलाई मन नपराएर होइन, शुक्राचार्यकी छोरी भएकाले बिवाह गरेको र राजाले शुक्राचार्यसँग भएको संजीवनी विद्या पाउन यो सबै गरेको भन्छे।

देवयानीलाई यी सब कुरामा विश्वास छैन। कुवामा खसेकी देवयानीलाई ययातीले दाहिने हातमा समातेर बाहिर निकालेको थियो। त्यतिबेलै देवयानीले उसलाई सम्झाएकी हुन्छे, ‘महाराज म कुमारी कन्या हुँ र हजुरले मेरो दाहिने हात समाउनु भयो।’

यतिकै भरमा ययातीले आफूसँग विवाह गरेको देवायानीको विश्वास छ।

मञ्चमा राजा ययातीको प्रवेश हुन्छ, देवयानी बाहिर निस्किन्छे। शर्मिष्ठा र राजाबीच केही तर्कवितर्क हुन्छ। आत्महत्या गर्न तयार भएर शर्मिष्ठा बिष पिउन खोज्छे।

आफूलाई रोकेपछि ऊ राजासँग भन्छे, ‘महाराज, तपाईंले मेरो दाहिने हात समाउनु भयो।’

ययाती शर्मिष्ठालाई रानी बनाउन तयार हुन्छ।

यतिबेलै युवराज पुरु आफ्नी नवविवाहित श्रीमती लिएर दरबार आउँदैछ। दरबारको सजावट हुन सकेको छैन। सबै आ-आफ्नै खेलमा व्यस्त छन्। बाहिर आवाज आउन थाल्छ, ‘युवराज पुरुराजकी जय!’

नाटक ‘ययाती’को एक दृश्य।

त्यतिबेलै महारानी देवयानी गलाको मंगलसुत्र फ्याँकेर दरबारबाट बाहिरिन्छे।

पुरु र ययातीबीच कुनै वादविवाद चलिरहँदा शर्मिष्ठा मञ्चमा आइपुग्छे। उसैले खबर सुनाउँछे, ‘देवयानीका पिता दैत्यगुरु शुक्राचार्यले महाराज ययातीलाई श्राप दिएका छन्।’

त्यो श्राप हुन्छ, घाम अस्ताउँदासम्म ययाती बृद्ध हुने। तर कुनै नौजवानले त्यो बुढ्यौली लिइदिए ययातीले यो श्रापबाट छुटकारा पाउने छ।

ययातीमा अझै भोगको तृष्णा कम भएको छैन। ऊ जीवनलाई यौवनको पर्यायको रुपमा पर्छ। जब शुक्राचार्यको श्राप सुन्छ, तब ऊ बर्बराउँछ:

उफ!

म नरहेको एकैछिनपछि के के के के हुन थाल्दछ

पवन कसलाई स्पर्श गर्न आउँदो हो

फूल कुन दिशा भएर फुल्छ होला

आफन्तका अनुहारमा कस्तो संगीत बज्दो हो

विजयका रंगहरु आफ्नो भागमा पारेर

पराजय छोडिदेला कसैले

म नरहेको एकै छिनपछि

कुन आँखाले देख्लान् मेरा सपनाहरू

कस्ले भोग्ला रहलपहल यौवन

कसरी थामिलएला मेरो विरासत !

उफ!

नाटक ‘ययाती’को एक दृश्य।

जीवन र भोगप्रतिको ययातीको अतिशय मोहको ठीक विपरित छ उसकै छोरो पुरु। स्वयम्वरको १५ दिनपछि घर आइपुगेको छ। सुन्दरी चित्रलेखासँग विवाह भएको छ। अझै सुहागरात मनाएको छैन। तर, उसमा जीवनप्रति, यौवनप्रति कुनै मोह छैन। पुर्खाको वीरताप्रति कुनै गौरव छैन। ऊ बैराग्य चाहन्छ जीवनमा।

यतिसम्म कि सुहागरातको दिन आफ्ना पिताको भागमा परेको श्राप ग्रहण गरेर बृद्ध हुन ऊ तयार छ।

ययातीको भूमिकामा घिमिरे युवराज छन्, जसले निर्देशन गरेका थुप्रै नाटक यही नाटकघरमा मञ्चन भइसकेका छन्। घिमिरेमार्फत प्रस्तुत भएको ययातीको भोगी चरित्र निकै छुने किसिमको छ। शर्मिष्ठाको भूमिका निभाएकी पवित्रा खड्का र देवयानी बनेकी सरस्वती अधिकारीको पनि अभिनयले नाटकलाई निकै चलायमान बनाएको छ। पुरुकी श्रीमती चित्रलेखा बनेकी अर्चना पन्थीले नेपाली नाटकमा निकै राम्रो अभिनय गर्न सक्ने कलाकारको आगमनको संकेत गर्छिन्।

नाटकको सुरुवात त्यत्ति धेरै आकर्षक छैन। शर्मिष्ठा, देवयानी तथा सुवर्णलताबीचको लामो गन्थन निकैबेर चल्छ। नाटकले गति लिन ययातीको मञ्चप्रवेश पर्खनु पर्छ। नाटक सम्पूर्ण रुपमा संवादमा निर्भर छ। चित्रलेखाको आत्महत्या र पुरुमा बुढ्यौली चढेकोबाहेक अन्य दृश्यहरु संवादबाट नै बुझिने खालका छन्।

संवादहरु सहज छन्। खासगरी अनुदित नाटकमा जटिल संवाद राख्ने परम्परा तोड्ने नाटकको क्रममा ‘ययाती’ निकै अगाडि उभिन्छ। अझ पौराणिक नाटकका संवादलाई यति सहज र सम्प्रेषणिय बनाउनु निकै कठिन काम हो। त्यसलाई निर्देशक चौंलागाईंले सहज रुपमा पूरा गरेका छन्। संवाद सहज भइकन पनि काव्यिक छन्। त्यसैले संवादमा मात्रै टिकेको भए पनि दर्शकलाई आकर्षित गरिराख्न यी संवाद सफल छन्।

ययातीको भोगी चरित्र र पुरूको वैराग, सायद जीवन यी दुई अतिहरुको बीचबाट चलिरहेको हुन्छ।

नाटक: ययाती

स्थान: शिल्पी थिएटर, बत्तिसपुतली

समय: हरेक साँझ ५ बजेदेखि (मंगलबारबाहेक)

     चैत ३ गतेसम्म

लेखक: गिरिश कर्नाड

निर्देशक: टंक चौलागाईं

 

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्