भारतीय सडक प्रयोग गरेर नाका स्तरीय खेलकुदको उद्‌घाटन !

भारतीय सडक हुँदै नेपाल तर्फ आउने कोइलावासको गेट। तस्बिर- दशरथ घिमिरे/देश सञ्‍चार

दाङ- राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा, खेलाडिहरु आफ्‍नै तालमा अभ्‍यास गरिरहका देखिन्छन्। सर्वसाधारणको चहलपहल बाक्लै छ जहाँ नाका स्तरीय खेलकुद महोत्सवको लागि भव्‍य मञ्‍च बनाइएको छ।

अतिथिको स्वागतमा महोत्सवका आयोजक आँखामा आशा लिएर बसेका छन्।उनीहरुसँगै साथै २२ वटा नाकामा रहेका दस विद्यालयका शिक्षक र विद्यार्थीहरु पनि प्रमुख अथिति र अथितिहरुलाई कुरिरहेका छन्।

केही समयको प्रतिक्षापछि खेल महोत्सवको उद्‌घाटनका लागि कोईलावास हुँदै भारतीय सडक प्रयोग गरेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा, प्रदेश सभा सदस्य रेवतिरमण शर्मा, ईन्द्रजित थारु, दामा शर्मा लगाएत पुगे।  खेलाडीहरुसँग हात मिलाए।

२२ वटा नाकामा रहेका दस विद्यालयको सहभागीता रहेको नाका स्तरीय महोत्सवको महासचिव महरा लगायतले औपचारिक रुपमा उद्‌घाट गरे। २०५५ सालबाट खेल महोत्सव गर्दै आएको आयोजक खुशी भए र अतिथिको भाषण सुन्‍नतर्फ लागे।

उद्‌घाटनमा बोल्‍दै महराले भने, ‘भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ, नेपाली वस्तीलाई सडक सञ्‍जालसँग जोड्नुपर्छ। उनले थपे, ‘यहाँको समस्यासँग म नजिक छु, वाम गठवन्धनको सरकारले योजनावद्ध रुपमा विकास गर्छ। नाकाको एकीकृत बिकासको लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

नाका स्तरीय खेलकुद समाजका अध्यक्ष श्यामबहादुर झाक्रीले नाका क्षेत्रलाई राज्यले उपेक्षा गरेको भन्दै वाम गठबन्धनको सरकारले विकास गर्नुपर्ने माग राखे।

‘हाम्रो नाकामा विकास चाहिएको छ, सञ्‍चारवाट बिमुख छौ, वाटो छैन, खानेपानी छैन, राम्रो बिद्यालय छैन, औषधि उपचार गर्न भारतीय अस्पताल जानुपर्छझस्थानीय चक्रबहादुर खड्का शिखरले भने–‘सरकारले हाम्रो माग सुन्‍नैपर्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य रेवतिरमण शर्माले नाकालाई सडक संजालवाट जोड्न प्रदेश सरकारले ध्यान दिने बताए। ‘नाका क्षेत्रका जनतालाई सुविधा दिन प्रदेश सरकारले ध्यान दिन्छ’ उनले भने, ‘बाटो, शिक्षा, स्वास्थ्यको बिकाशको लागि हामी प्रतिवद्ध छौ।’

अर्का प्रदेश सभा सदस्य ईन्द्रजित थारुले संचारको सुविधा नाकामा ल्याउन पहल गरेको र केही समयपछि समस्या समाधान हुने बताए। प्रदेश सभा सदस्य दामा शर्माले नाका क्षेत्रका नागरिक सिमा रक्षक रहेको चर्चा गर्दै नाका क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्ने बताए।

राजपुर गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोकाले गाउँपालिकाले नयाँ ट्रयाक खोल्न जग्रहवा देखि खाङ्ग्रा नाका लाई ५० लाख बजेट बिनियोजन गरेको बताए।

ज्ञापनपत्रको चांग

नाकाको बिकाशको लागि राज्यले ध्यान दिनुपर्ने भन्दै पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाईएको छ। विभिन्‍न बिद्यालय र समुदायको तर्फवाट ज्ञापनपत्र बुझाएका हुन्।

कोईलावास सडकको निरीक्षण
प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा, प्रदेश सभा सदस्य रेवतिरमण शर्मा, ईन्द्रजित थारु, दामा शर्माले निर्माणाधीन लमही–कोईलावास सडकको निरिक्षण गरे। कोईलावास नाका संचालनमा ल्याउन सडकको भुमिका महत्त्वपूर्ण हुने विश्‍वास ब्यक्त गरिएको छ ।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्