रियल मड्रिड विजयी

रोनाल्डोको यस्तो मन, ह्याट्रिक गर्ने मौका छोडे, अरुलाई अघि बढाए

घरेलु लिगमा रियल मड्रिडले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएको छ । यसैको निरन्तरता स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा पनि देखियो ।

जिनेदिन जिदानको टिम रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा एलाभेसमाथि शानदार जित दर्ता गरेको छ ।

उसले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा एलाभेसलाई ४-० गोल अन्तरले हराएको हो । ४४ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेर रियललाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १-० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप तीन गोल गरेको हो । दोस्रो हाफको सुरुमा नै ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

६१ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ४-० ले विजयी भयो ।

रोनाल्डोले आफूले ह्याट्रिक गर्ने मौका छोडेर अन्तिम समयमा पाएको पेनाल्टी प्रहार गर्न बेन्जिमालाई दिएका हुन् । यो पेनाल्टी रोनाल्डोले प्रहार गरेको भए उनले खेलमा ह्याट्रिक गर्ने सम्भावना थियो ।

तर रोनाल्डोले आफू पछि हटेर बेन्जिमालाई पेनाल्टी प्रहार गर्न दिएका हुन् । खेलपछि प्रशिक्षक जिदानले रोनाल्डोको यो भावनाको कदर गरेका छन् । रोनाल्डोको जेस्चरबाट आफू निकै खुशी रहेको जिदानले बताए । टिम खेलमा यो निकै राम्रो भावनाको उदहारण रहेको उनको भनाई छ ।

रियल मड्रिडका गोलरक्षक किलोर नावासले रोनाल्डोको व्यवहारबाट आफूहरु कोही पनि अचम्मित नभएको बताएका छन् । किनकी रोनाल्डो यस्तो राम्रो भावना भएका खेलाडी हुन् भन्ने आफूहरु सबैलाई थाहा रहेको उनको भनाई छ । पछिल्ला चार खेलमा ८ गोल गरेका रोनाल्डोले स्पेनिस ला लिगामा अहिलेसम्म २९९ गोल गरेका छन् ।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको २५ खेलबाट ५१ अंक भएको छ । राति नै भएको खेलमा जिरोनालाई हराएको शीर्ष स्थानको बार्सिलोनाको समान २५ खेलबाट ६५ अंक रहेको छ ।

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्