अलबिदा

हृदयघातका कारण श्रीदेवीको निधन

भारतीय चलचित्रकी अभिनेत्री श्रीदेवीको निधन भएको छ । अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको हो । उनी दुबईमा थिइन् र त्यहिँ हृदय घातका कारण उनको निधन भएको उनको परिवारले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको हो । उनी परिवारका सदस्याको विवाह समारोहमा सहभागी हुन दुबई गएकी थिइन् । उनको असामयीक निधनले चलचित्र उद्योग तथा विश्वभर रहेका उनका फ्यान शोकमा डुबेका छन् ।

उनी सीमित सुपरस्टार अभिनेत्रीमा गनिन्छिन्, जसका चलचित्रले बक्स अफिसमा ठूलो सफलता पाउँछन् । चार वर्षको उमेरदेखि अभिनयमा आएकी श्रीदेवीले तमिल, तेलुगु, मलायालम, कन्नडा र हिन्दी भाषाका चलचित्रमा काम गरेकी छन् ।

उनको जन्म सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुमा भएको हो । चार वर्षको उमेरमा तमिल चलचित्र कन्धन करुणईबाट उनले आफ्नो चलचित्र यात्राको सुरुवात गरेकी थिइन् ।

उनले बालकलाकारको रुपमा तेलुगु र मलयालम चलचित्रमा पनि उनले अभिनय गरेकी छन् । दक्षिण भारतीय चलचित्रमा अभिनय गरेपछि उनले सन् १९७९ मा सोलहवां साल चलचित्रबाट मुख्य कलाकारको रुपमा हिन्दी चलचित्रको यात्रा सुरु गरेकी हुन् ।

सन् १९८० को दशकलाई अभिनेत्रीको हिसाबले श्रीदेवीको दशकको रुपमा लिने गरिन्छ । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट चलचित्र दिएकी छन् । उनलाई लेडी अमिताभ बच्चन पनि भन्ने गरिन्छ ।

जितेन्द्र र उनको जोडी चलचित्रमा निकै रुचाइएको जोडी हो । यी दुईले हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता हिट चलचित्रमा सँगै काम गरेका छन् ।

सन् १९९७ मा चलचित्र जुदाई पछि उनी १५ वर्षसम्म चलचित्रबाट बाहिर रहिन् । त्यसपछि उनी सन् २०१२ मा चलचित्र इंग्लिस भिंग्लिसबाट उनी फेरि चलचित्रमा फर्किइन् । यो चलचित्र पनि सुपरहिट भयो ।

गएको वर्ष अर्थात सन् २०१७ मा उनको पछिल्लो चलचित्र मम् प्रदर्शनमा आएको थियो । उनको यो ३०० औँ चलचित्र थियो ।

सम्बन्धित समाचार 

‘रुप की रानी’ श्रीदेवी र उनका चर्चित चलचित्र

श्रीदेवीकी छोरी अभिनित फिल्म जुलाईमा

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्