‘गुण्दागर्दी’ आरोपमा एमाले निकट एलिस गुरुङ पक्राउ

विराटनगर- व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा विराटनगरका एलिस गुरुङ पक्राउ परेका छन्। एक महिनाअघि पेट्रोल पम्प व्यवसायी एवं गुद्री बजार सब्जीमण्डी संघका अध्यक्ष पशुपति भगतमाथि गुरुङले आक्रमण गरेको र त्यसपछि भगतमाथि विभिन्न किसिमले धम्की दिँदै आएको भन्ने आरोपमा मोरङ प्रहरीले गुरुङलाई पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बीसीका अनुसार, ‘गत शुक्रबार गुरुङलाई विराटनगरको महेन्द्रचोकस्थित टेन इलेभन रेष्टुरेन्टबाट पक्राउ गरेका हौं। उनीमाथि विभिन्न आरोप रहेको छ। अनुसन्धान जारी रहेको छ।’

प्रहरी प्रमुख बीसीका अनुसार, ‘ब्यवसायी भगतमाथि सांघातिक हमला भएपछि नै फरार रहेका गुरुङको प्रहरीले उनको खोजी गरेको थियो। यसैबीच भगतले पनि उनीबिरुद्ध जाहेरी दिएका थिए। तर, शुक्रबार गुरुङलाई पक्राउ गर्न सफल भयौं।’

जग्गा खरिदबिक्रीका क्रममा भगत र गुरुङबीचको विवाद आक्रमणमा परिणत भएको हो। आक्रमणपश्चात भगतले गुरुङमाथि ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी दर्ता गराएका थिए। उक्त मुद्धा फिर्ता लिन गुरुङले पटक पटक ब्यवसायी भगतमाथि धम्की दिँदै आएको प्रहरी प्रमुख बीसीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय विराटनगरमा थुनामा रहेका गुरुङविरुद्धको मुद्धा अदालतमा पेश गरिएको छ। ‘सम्भवत आजै म्याद थप हुन सक्नेछ,’ बीसीले भने।

प्रहरीले गुरुङमाथि यो घटना मात्र नभएर विगतमा भएगरेका घटनाको विषयमा पनि अनुसन्धान गरिरहेको छ।

पछिल्लो २ दशकयता विराटनगरको गुण्डागर्दीका घटनाक्रममा गुरुङ पटकपटक मुछिँदै आएका छन्। ब्यवसायी भगतमाथि मात्र नभएर गुरुङले पछिल्लो समय विभिन्न उद्योगीब्यवसायीलाई धम्की दिँदै आएको आरोप छ। पशुपति भगतमाथि आक्रमण गरेको आरोपमा गुरुङ निकटस्थ महोम्मद सिद्धिके ताज बाबरलाई प्रहरीले पक्राउ गरेको थियो। हाल बाबर अदालतबाट धरौटीमा छुटेका छन्। सम्पत्ति शुद्धीकरणको मुद्धा खेपिरहेका गुरुङ एमालेका कार्यकर्ता हुन्।

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्