नेपालकी सानी श्रीदेवीको ती श्रीदेवीलाई श्रद्धाञ्‍जली

‘म सधैँ उनको नक्कल गर्न खोज्थेँ, तर सधैँ असफल’

श्रीदेवीका ती चञ्चल आँखा बोलिरहेजस्ता लाग्थे मलाई सधैँ। एउटी अभिनेत्री र नृत्यांगनाका रुपमा मैले सानैदेखि उनको नक्कल गर्ने प्रयास गरेँ। तर सधैँ यसमा असफल भएँ।

श्रीदेवीका ती चञ्चल आँखा बोलिरहेजस्ता लाग्थे मलाई सधैँ।

उनले धेरै पुस्ताका अभिनेत्रीहरुलाई प्रभावित गरेकी छन्। अझै आगामी पुस्ताका धेरै अभिनेत्रीलाई उनको कलाकारिताले प्रभावित पार्नेछ। मेरो अभिनययात्रामा पनि श्रीदेवीको धेरै प्रभाव छ।

मैले भन्नैपर्छ, म आज जे छु- त्यो बन्नमा श्रीदेवीको ठूलो भूमिका छ।

ती बोल्ने आँखा, उनको त्यो सुन्दरता, उनको अभिनय क्षमता- अमूल्य थिए ती सबै।

मैले उनका धेरै फिल्म हेरेको छु। ‘सदमा’, ‘चालबाज’, ‘जुदाई’जस्ता फिल्म हेरेर म धेरै प्रभावित भएको छु। ‘मिस्टर इन्डिया’जस्ता फिल्महरु हेरेरै बितेको हो मेरो बाल्यकाल।

माधुरी दीक्षित र श्रीदेवीका फिल्म म धेरै हेर्थेँ सानो उमेरमा जसले मेरो अभिनययात्रालाई निर्देशित गरेको छ।

नायिका केकी अधिकारी

आज बिहान श्रीदेवीको निधनको खबर सुन्दा मेरो बाल्यकालको सानो अंश मर्‍यो।

मलाई नाच्दा दर्शकहरुले ‘सानी श्री’ भन्थे। मभन्दा वरिष्ठ अभिनेत्रीहरुले यो ‘श्रीदेवी’जस्ती छे भन्दा म दंग पर्थेँ।

मलाई नाच्दा दर्शकहरुले ‘सानी श्री’ भन्थे। मभन्दा वरिष्ठ अभिनेत्रीहरुले यो ‘श्रीदेवी’जस्ती छे भन्दा म दंग पर्थेँ।

आँखाहरु कस्तो एक्सप्रेसिभ थिए उनका। सधैँ बोलिरहेजस्ता। कुनै प्रयास गरेबिनै उनी अभिनय गर्थिन्। कस्तो लचकता थियो उनको शरीरमा। म त्यो लचकता ल्याउने प्रयास गर्थेँ मेरो शरीरमा। तर मेरो शरीरमा त्यो लचकता कहिल्यै आएन। कहाँ श्रीदेवी, कहाँ म!

म सधैँ उनको नक्कल गर्ने प्रयास गर्थेँ। कस्ती जीवन्त अभिनेत्री।

कस्तो लचकता थियो उनको शरीरमा। म त्यो लचकता ल्याउने प्रयास गर्थेँ मेरो शरीरमा।

आज उनको निधनबारे थाहा पाएर लागेको छ सायद उनका कति कथाहरु उनीभित्रै थिए। ती कथाहरु अब कहिल्यै बाहिर आउने छैनन्।

आज बिहान श्रीदेवी बितिन् भन्ने सुन्दा मैले अहिलेसम्म (आइतबार दिउँसो) पत्यार नै गर्न सकिरहेको छैन। उनी बितेकै हुन् त जस्तोमात्र लागिरहेको छ।

उनी सधैँ मेरो सम्झनामा रहिरहनेछिन्।

श्रद्धाञ्जली श्रीदेवी!

(केकी अधिकारीसँग देशसञ्चारको कुराकानीमा आधारित)

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्