म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साबिक विजेता चेल्सीलाई २-१ ले हराएको हो । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडको जितमा रामेलु लुकाकु र जेसी लिङगार्डले गोल गरे ।

यस्तै चेल्सीका लागि विलियनले एक गोल फर्काए । खेलमा अग्रता चेल्सीले लिएको थियो । ३२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

त्यसको सात मिनेटपछि लुकाकुले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा ७५ औँ मिनेटमा लिङगार्डले युनाइटेडका लागि विजयी गोल गरे र महत्वपूर्ण जित दिलाउँदै फेरि दोस्रो स्थानमा लगे ।

जितपछि म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको लिभरपुलको ५७ अंक रहेको छ ।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्