रेशम चौधरीले जिल्ला अदालत कैलालीमा गरे आत्मसमर्पण

रेशम चौधरी।

काठमाडौं- कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन्।

संघीय संसदको अधिवेशन आउन साता दिन बाँकी रहँदा रेशमले आत्म समर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले देशसञ्‍चारलाई जानकारी दिए।

राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजय हासिल गरेका थिए। तर, निर्वाचन आयोगले दिने विजयीको प्रमाणपत्र भने पाउन सकेका छैनन्। वारेशनामामार्फत विजयीको प्रमाणपत्र दिलाइदिन सर्वोच्‍च अदालतसम्‍म पुगे पनि अदालतले उसको माग सुनुवाइ गरेको छैन

टीकापुर काण्डका मुख्‍य योजनाकार भएको दाबीसहित मुद्दा परेपछि उनी फरार भएका थिए। उनीसँगै घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी अहिले पनि जेल जीवन बिताइरहेका छन्।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यको सपथग्रहण फागुन २० गते हुने भएपछि उनी आत्‍मसमर्पण गरेको बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसका एक दिनअघि सपथग्रहण हुने भएको हो। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दिउँसो ४ बजे र राष्ट्रियसभाका सपथ बेलुकी ५ बजे गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्