सिरिया युद्ध

लासको पहाड बन्यो, रगतको खोला

द्धन्द्धग्रस्त सिरिया बिस्तारै समाधान तर्फ उन्मुख भएजस्तो लाग्दै थियो । देशका विभिन्न क्षेत्रबाट बिद्रोहीको कब्जा हट्दै पनि गएको थियो । तर गएको हप्तादेखि फेरि हालत खराब देखिन थालेको छ ।

यसअघि पनि अवस्था नाजुक नै थियो । तर गएको हप्तादेखि थप नाजुक बनेको छ अवस्था । सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको क्षेत्र पूर्वी गुटा । राजधानी दमासकससँग जोडिएको क्षेत्र ।

अरु ठाउँमा सफलता पाएको सिरियाली सेनाको नजर पूर्वी गुटामा । त्यहाँबाट पनि बिद्रोहीलाई लखेट्न पाए त जितको उत्सव मनाउन पाइन्थ्यो भन्ने सिरियाली सरकारको सपना ।

तर जितको उत्सव मनाउने ध्यानमा सर्वसाधारण नागरिक जसका लागि जित हुन पर्ने हो, उनीहरुकै लासको पहाड बन्यो, रगतको खोला बग्यो ।

बिद्रोहीको कब्जामा परेदेखि नै खाद्यान्नसहितका अत्यावश्यक सामग्री र स्वास्थ्य सेवाबाट वञ्चित भएका पूर्वी गुटाका बासिन्दा । गएको सोमबारदेखि सरकारी सेनाले गरेको कारवाही अभियानको क्रममा मृत्युको मुखमै पुगे । केहीले ज्यान जोगाए । केहीले प्राण पखेरो त्यागे ।

सेनालाई रुसको साथ नागरिक एक्लै

सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ । पूर्वी गुटामा पनि रुसको साथमा सिरियाली सेनाले बिद्रोहीलाई निशाना बनाउन भन्दै आक्रमण सुरु गरेको हो । तर निशानामा बिद्रोही भनिए पनि मारमा सर्वसाधारण नागरिक परेका छन् ।

एन्टोनियो गुटरेट्सले
सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

भोकमा ज्यान जोगाएका उनीहरु हवाई तथा रकेट आक्रमणमा आफूलाई बचाउन असफल छन् । जितको अन्तिम लक्ष्यले सरकारी सेनालाई तानेको छ ।

तर नागरिकको आँसुले उनीहरुलाई तान्न सकेको छैन । आक्रमणका लागि अरुको साथ लिने सरकारले तर नागरिकलाई चाहिने अत्यावश्यक सामग्री पुर्याउन सकेको छैन ।

सर्वसाधारण नागरिक चेपुवामा परेका छन्, सरकारी सेना र बिद्रोहीको ।

८ दिनमा झण्डै ६ सयको मृत्यु

गएको सोमबारदेखि सुरु भएको सरकारी सेनाको कारवाही अभियानको क्रममा बिद्रोही कति मारिए थाहा छैन । तर झण्डै ६ सयको हाराहारीमा सर्वसाधारण नागरिकको ज्यान गएको छ ।

८ दिनमा कम्तिमा ५६० जनाको ज्यान गएको र त्यसमा एक सय भन्दा बढी बालबालिका रहेको सिरियामा कार्यरत मानवअधिकारवादी संस्थाले बताएका छन् ।

पूर्वी गुटामा खाद्यान्नसहितका अत्यवाश्यक सामग्रीको अभाव छ ।

राजधानी दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी गुटामा ३ लाख ९३ हजार मानिस फसेका छन् । अहिले ती नागरिक रुसको सहयोगमा सरकारी सेनाले बम खाल्न थालेपछि त्रासमा बाँच्न बाध्य छन् । उसै त खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको अभाव, त्यसमाथि बमको डरले उनीहरुलाई कायल पारेको छ ।

संयुक्त राष्ट्रसंघको ३० दिने युद्ध विराम

तीन दिन लामो छलफलपछि गएको शनिबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा पूर्वी गुटामा ३० दिने युद्ध विराम लागु गर्ने विषयमा सहमति बन्यो ।

सुरुमा युद्ध विराम प्रस्तावको विपक्षमा उभिएको रुसले पनि सहमति दिएपछि सुरक्षा परिषदका सबै १५ सदस्य राष्ट्र एक ठाउँमा आएको देखियो । आश पलायो, अब पूर्वी गुटामा चलिरहेको मानसंहारको क्रम रोकिन्छ कि । ज्यान जोगाउने भागदौडमा रहेका निर्दोषको हात कसैले थाम्छ कि ।

तर आश निराश बन्यो । सपना सपना मात्रै । खाद्यान्नको पर्खाईमा बसेकाहरुले फेरि पनि आकाशमाथिबाट खस्दै गरेको बम र रकेटबाट जोगिने प्रयासमै समय बिताउनु पर्यो ।

रुसको दैनिक पाँच घण्टे युद्ध विराम

सुरक्षा परिषदमा सहमति जनाएको रुसले आक्रमणमा सिरियाली सेनालाई सहयोग गर्न छोडेन । शनिबार युद्ध विरामको प्रस्ताव पास गरे पनि आक्रमण रोकिएन । सोमबार अबेर आएर रुसले पूर्वी गुटामा दिनको पाँच घण्टा युद्ध रोक्ने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिनको पाँच घण्टा युद्ध रोकेर युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई बाहिर निकाल्न आदेश दिएका हुन् । यो पाँच घण्टे युद्ध विराम मंगलबारदेखि सुरु हुँदैछ ।

सरकारी सेनाको आक्रमणमा धेरै बालबालिका चपेटामा परेका छन् । उपचारका लागि स्वास्थ्य संस्थाको पनि अभाव छ ।

मानवीय करिडोर बनाएर नागरिकलाई सुरक्षित स्थानमा लगिने रुसले जनाएको छ । सुरक्षा परिषदमा भएको सहमतिमा सबै पक्षले ३० दिनसम्म युद्ध रोक्ने र मानवीय सहायता सामग्री पुर्याउने निर्णय भएको थियो । तर रुसले भने दिनको पाँच घण्टा मात्रै युद्ध रोकिने बताएको हो ।

पाँच घण्टे युद्ध विराम स्थानीय समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने रुसी रक्षा मन्त्री सर्गेई शोयगुले बताएका छन् । सर्वसाधारण नागरिकलाई बाहिर निकाल्नका लागि बनाइएको मानवीय करिडोरका बारेमा केही बताइएको छैन ।

संयुक्त राष्ट्रसंघले भनेको युद्ध विरामका लागि सबै पक्षले युद्ध रोक्नु पर्नेमा त्यस्तो नभएकाले आफूहरुले पनि नरोक्न नसक्ने रुसी दाबी छ । इस्लामिक स्टेट आइएससहितका बिद्रोहीले आफ्नो गतिविधि नरोकेको उनीहरुको दाबी छ ।

पूर्वी गुटाले अब पर्खिन सक्दैन

संयुक्त राष्ट्रसंघले पूर्वी गुटाको अवस्था अति नै दयनिय भएकाले तत्काल सबै पक्षले मानवीयता देखाउनु पर्ने बताएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्टले पूर्वी गुटाले अब पर्खिन नसक्ने भन्दै तत्काल युद्ध रोकेर सहयता सामग्री पठाउन तथा उद्धारको काम गर्नु पर्ने बताए ।

तर रुसले भने सहायताको सोटो केही घण्टा मात्रै युद्ध रोकेर नागरिकलाई बाहिर निकाल्ने बताएको छ । महासचिव एन्टोनियोले पूर्वी गुटा पृथ्वीको नर्क बन्दै गएको बताउने गरेका छन् ।

पछिल्लो समय हवाई आक्रमण मात्रै होइन रसायनिक आक्रमण पनि भएको हुन सक्ने आशंकाले अवस्था थप खतरनाक बनाएको छ । राष्ट्रसंघले यसमा चिन्ता जनाएको छ । मानवीय सहायताकर्मीले पनि तत्काल युद्ध रोकेर सहयोगमा जुट्न आग्रह गरिरहेका छन् ।

सिरिया युद्धको सुरुवात

६ वर्षअघि राष्ट्रपति बसर अल असदको विरोधमा सुरु भएको शान्तीपूर्ण आन्दोलन सिरिया युद्धमा परिणत भएको हो । यसका कारण अहिलेसम्म ३ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । देशको अर्थतन्त्र डुबेको छ भने ऐतिहासिक सम्पदा नष्ट भएका छन् । मानव जीवन संकटमा परेको छ ।

सिरिया युद्धको आधार सन् २०११ को मार्चमा रोजगारीसहितका अन्य सेवा सुविधा माग गर्दै भएको आन्दोलनलाई मान्ने गरिएको छ । त्यसपछि पक्ष विपक्षमा मानिस बाँडिए । हतियार उठाए । त्यसले युद्ध निम्त्यो ।

रोयटर्स र बिबिसीको सहयोगमा

तस्बिर : इपिए, एएफपी र रोयटर्स

फाल्गुन १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्