जब रेशम र लक्ष्मण सँगै जेलमा भेटिए..

कैलाली- टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दुई थारु नेता रेशम चौधरी र लक्ष्मण थारुबीच मंगलवार बिहान कारागारमा एक घण्टा वार्तालाप भएको छ।

थरुहट आन्दोलनका चर्चित नेता रेशम र लक्ष्मणबीच टिकापुर घटनापछि पहिलो पटक कारागारमा भेट भएको हो। सोमबार जिल्ला अदालतमा उपस्थित भएका रेशमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएपछि उनी कारागार चलान भएका थिए।

लक्ष्मण थारुलाई भने टीकापुर घटना घटेको केही दिनपछि भैरहवाबाट प्रहरीले पक्राउ गरी कारागार बुझाएको थियो। टीकापुर घटनाको आरोपमा लक्ष्मण थारु सहित २५ जना थुनामा रहेपनि अन्यलाई भने सोमवार मात्रै कारागार चलान भएका रेशमसंग भेट गर्न दिईएको छैन्।

कारागार प्रसासनको अनुमतीमा लक्ष्मण थारु र रेशम चौधरीले भने भेट गरेका हुन्।उनीहरु बिच एक घण्टा लामो कुराकानी भएको बताईएको छ। भेटमा थरुहट आन्दोलन, टिकापुर घटना र अहिले चलिरहेको मुद्दाका बिषयमा कुराकानी भएको छ।

रेशम चौधरीले जिल्ला अदालत कैलालीमा गरे आत्मसमर्पण 

‘टिकापुर घटनापछि रेशम जी संग कारागार भित्रै भेट भयो, हामीबिच टिकापुर घटना, थरुहट आन्दोलन र अहिले चलिरहेको मुद्धाका बिषयमा कुराकानी भयो।’ कारागारमा रहेका लक्ष्मण थारुले भने।

रेशम चौधरीले भने लक्ष्मण थारुसंग भेटका क्रममा भएका कुरा खुलाउन चाहेनन्। उनले झण्डै तीन बर्षपछि लक्ष्मण थारुलाई भेट्न पाउदा सामान्य भलाकुसारी भएको बताए।

कारागारमा रेशमलाई भेट्न समर्थकको भीड
कैदी नम्बर ४ कोठामा राखिएका रेशम चौधरीलाई भेट्न उनका समर्थकहरुको कारागारमा भिड लागेको छ।बिहानैदेखि थारु नेताहरु र र उनका आफन्तहरु कारागारमा भेटका लागि पुगीरहेका हुन्।

टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारुलाई भेटपछि कुराकानी गर्दै रेशम चौधरी। तस्बिर-दीपकराज जोशी/देश सञ्‍चार

कारागारकोे गेटमै सांसद रेशम लाल चौधरी भेटघाट पुस्तीका राखिएको छ। आफुलाई भेट्न आएका सबैसंग रेशमले भेट गरिरहेका छन्।

थारु आन्दोलनका अगुवा प्रभात कुमार चौधरी, माधव चौधरी, गया प्रसाद कुस्मी लगायतका नेताहरुले कारगारमा पुगी रेशमसंग भेट गरेका छन्।

कैदी नम्बर ४ रेशम चौधरी
कैलाली जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई कारागारको कैदी नम्बर ४ कोठामा राखिएको छ। उनलाई कारागारमा रहेका अन्य कैदी सरह नै राखिएको कारागार प्रसासनले जनाएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत भएका चौधरीलाई उनकै आग्रहमा कारागारमा छुट्टै व्यवस्थापन केहि नगरेको निमित्त जेलर भक्त बहादुर बिष्टले बताए।

‘रेशम चौधरी जि ले नै मलाई अन्य कैदी सरह नै राख्नुहोला भनेकोले छुट्टै व्यवस्थापन केहि गरिएको छैन, तर केहि खुकुलो र फराकिलो कोठामा भने राखेका छौ।’ बिष्टले भने।

कारागारमा भेटिएका रेशमले अन्य कैदी सरह आफुलाई पनि बसोबासको व्यवस्था भएको बताए। ‘अन्य साथीहरु जसरी बसीरहेका छन म पनि त्यसरी नै बसीरहेको छु मलाई छुट्टै सेवा सुबिधा चाहिदैन।’ उनले भने।

फाल्गुन १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्