प्रदेश प्रमुख तुम्वाहाङको जीवनशैली

‘पहिले दौरासुरुवाल दराजमै थन्किन्थे, अहिले सधैँ त्यही लगाउँछु’

प्रदेश १ का प्रमुख गोविन्द तुम्बाहाङ। तस्बिर: अभयकुमार राई

नियमित रुपमा उनको निद्रा बिहानी झिसमिसेमै खुल्ने गर्छ। त्यसपछि उनको पहिलो कार्य नै घरअघिको चौरमा सामान्य कसरत र त्यसपछि नुहाउने प्रक्रिया पर्छ।

प्रदेश नम्बर एकमा नियुक्त भएका प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिरहँदा पनि आफूलाई सामान्य नागरिक सरह नै रहेको बताउँछन्। काम विशेषबाहेक विराटनगर कमै मात्रामा आउने गरेका तुम्बाहाङ यतिबेला अस्थायी राजधानीमा जमेर बसेका छन्। भन्छन्, ‘विराटनगरको आफ्नौ रौनक छ।’

‘म जेमा पनि आनन्द लिने मान्छे, फ्रिली हिँड्दा खेरी एककिसिमको आनन्द थियो भने प्रदेशप्रमुख भएर बस्दा मैले आफ्नो अध्ययनलाई बढाउने अवसर पाएको छु,’ उनी प्रदेशप्रमुख भइसकेपछिको अवस्था स्पस्ट पार्छन्।

बिहान करिब ७ बजेपछि उनको समय पत्रपत्रिकाका लागि हुन्छ। उनको टेबलमा एउटा अक्सफोर्ड डिक्सनरी साथै राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका हुन्छ। प्रमुख हुनुपूर्व भाषा तथा साहित्यमा जोड दिँदै आएका डा. तुम्बाहाङको नजर प्रदेशमा के भइरहेको छ, त्यसमा नजर जान्छ। उनी बडो चाखका साथ प्रदेश र केन्द्र सरकारले के के गर्दैछ त्यसमा बढी ध्यान केन्द्रित गर्छन्।

पहिले अन्तर्राष्टिय सञ्चारमाध्यम बीबीसी, सिएनएन, अलजजिरामा ध्यान केन्द्रित गर्ने गरेका प्रमुख तुम्बाहाङले विराटनगर आएपछि टेलिभिजन हेर्न समेत नसकेको स्पस्ट पारे। ‘खै, के खालको छ यो टेलिभिजन खोल्न पनि जान्दिन, बरु समयमै ९ बजेभित्र सुत्छु,’ ६० वर्षीय प्रमुख तुम्बाहाङले बेलुकाको समयबारे मन्द मुस्कान छाड्दै भने।

तपाईँ आफैँलाई प्रदेशप्रमुख बन्छु भन्ने लागेको थियो? उनी भन्छन्, ‘यही हुन्छु भन्ने चाहिँ थिएन। प्रधानमन्त्री केपी ओली आठराईमा कृषकको घरमा जन्मिएर दुईपटक प्रधानमन्त्री बन्नुभयो, भारतमा चिया बेचेर जीवनयापन गरेका नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभयो। यो त काम गर्दै जाँदा प्राप्त हुने परिश्रमको फल हो। बस। मेरो बुझाइ यही हो।’

तपाईँ रातारात परिवर्तन हुनु र ब्यवहारमा समेत परिवर्तन ल्याउनु भनेको अभिमान देखाउनु हो, जुन पक्कै पनि राम्रो होइन्। यो पद प्राप्त गर्नु भनेको एउटा संयोग हो। कुनै कर्तब्य निर्वाह गर्दा गर्दै सिलसिलामा प्राप्त हुने एउटा चीजमात्र हो त्यो भन्दा बढी केही होइन।’

धनकुटा जिल्लाको साविक तान्खुवाको वडा नम्बर ३ बन्चरे गाउँमा लिम्बू परिवारमा जन्मिएका प्रमुख तुम्बाहाङ भाषा र बोलिचालीका विषयमा भने सरल मिजासका भेटिए। राई लिम्बु जात सोझो भएपनि बोलीचालीमा भने, रुखो र कडा हुन्छन् भन्ने जिज्ञासामा उनी गम्भीर हुँदै भन्छन्, ‘भाषा औपचारिक तथा अनौपचारिक हुन्छ। समय, स्थान हेरिकन बोलीचाली हुनेगर्छ। अझैपनि हिजोको मेरो साथीभाइसँग कुरा गर्दा मेरो पुरानैशैली छ। तपाईँ रातारात परिवर्तन हुनु र ब्यवहारमा समेत परिवर्तन ल्याउनु भनेको अभिमान देखाउनु हो, जुन पक्कै पनि राम्रो होइन्। यो पद प्राप्त गर्नु भनेको एउटा संयोग हो। कुनै कर्तब्य निर्वाह गर्दा गर्दै सिलसिलामा प्राप्त हुने एउटा चीजमात्र हो त्यो भन्दा बढी केही होइन।’

यति भनिरहँदा उनी पदीय मर्यादालाई भने कायम राख्न सुझाव दिन्छन्। यो पद भनेको सरकारले सीमित अवधिका निम्ति दिएको कार्य हो भन्ने बुझ्नु आवश्यक रहेको उनको बुझाइ छ।

विद्यालय पढुञ्जेल भलिबल र फुटबल खेले पनि मनोरञ्जनतर्फ खासै रुचि नरहेको बताएका प्रमुख तुम्बाहाङ नाटक, साहित्य भने नजिकबाट नियाल्ने गर्छन्। उनले लिम्बु र राई भाषालाई समेटेर पाँचवटा पुस्तक समेत लेखेका छन्। त्यसैगरी अंग्रेजीमा समेत लिम्बु भाषाको तीनवटा पुस्तक प्रकाशन भइसकेको छ। उनले नेपालमा लिम्बु भाषाको चिनारी, ब्याकरण पनि लेखेका छन्।

बजारको विद्यालयमा अध्ययनका लागि आउदा साथीभाइले हेप्ने गर्थे। त्यसपछि भने दौरासुरुवाल लगाउन छाडियो र सर्ट पेन्ट सुटमा अभ्यस्त हुन थालियो।

धनकुटाबाट स्नातकतहको पढाइ सकी धरान झर्दा पहिलोपटक हिन्दी चलचित्र हेरेको उनी बताउँछन्। तर, त्यो चलचित्र उनले हलभित्र पूरा हेर्न पाएनन्। कारण थियो निन्द्रा। उनलाई यादसमेत भएनछ कतिबेला निदाएँ भनेर। चलचित्र सकिएपछि साथीले उठाउँदा झस्किएछन्। हिन्दी नबुझेका कारण आफू हलभित्रै निदाएको उनले हाँस्दै खुलाए।

राष्टियताको सन्दर्भ र पोशाक दौरासुरुवालबारे पनि उनको भनाइ फरक छ। दौरा सुरुवाल लगाउँदाको रमाइलो प्रसंग संझिएका प्रमुखले भने, ‘सानै छँदा तानले बुनेको दौरासुरुवाल, इष्टकोट लगाइन्थ्यो। तर, बजारको विद्यालयमा अध्ययनका लागि आउदा साथीभाइले हेप्ने गर्थे। त्यसपछि भने दौरासुरुवाल लगाउन छाडियो र सर्ट पेन्ट सुटमा अभ्यस्त हुन थालियो।’

पछिल्लो समय एकदुई जोर दौरासुरुवाल त घरमा राख्ने काममा मात्र सीमित भएको उनले प्रस्ट्याए। ती लुगा लगाउने भन्दा पनि थन्काउने काममा सीमित भए। यद्यपि राष्ट्रपति कार्यालयबाट प्रदेशप्रमुखको सपथका लागि फोन आउँदा उनीसँग मिल्ने टोपी र सुरुवाल भने घरमा रहेनछ।

४ बजेको समयमा कार्यालयमा दौरासुरुवाल टोपीमा आउन भनिएपछि तत्काल खरिदका लागि काठमाडौंको असन पुगेको उनी सम्झन्छन्। घरमा अन्य रंगको सुरुवाल भएपनि कार्यालयबाट तोकिएको सेतो रंगको सुरुवाल र कालो रंगको टोपी नहुदा खरिद गर्नुपरेको उनको भनाइ थियो। हिजोआज भने सधैँ दौरासुरुवाल नै लगाउने उनी बताउँछन्।

सादा जीवन उच्च विचारलाई आत्मसात गरेका प्रमुख तुम्बाहाङले सेन्ट, परफ्युम तथा यस्ता हाइफाइको चीज आफू प्रयोग नगर्ने बताए।

त्यसैगरी पहिरनका क्रममा कुनै ब्राण्ड विशेष छाप छ कि भन्ने कुरामा उनले भने, ‘दोकानमा लुगा किन्न जाँदा, कपडा छाम्ने अनि मूल्य सोध्ने। विश्वासको भरमा साहुजीले महंगो मूल्य राखेको लुगा राम्रो हुन्छ भन्ने लाग्ने र त्यही किन्ने बानी छ।’

जुत्ता विशेषमा समेत आफ्नो खासै ध्यान नरहने गरेको उनी बताउँछन्।

नेपाल तथा दक्षिण एशियाली अध्ययन केन्द्र सिनासमा कार्य गर्दा बेलायत, सिंगापुर, हङकङ, भारतमा सेमिनारका क्रममा पुगेका प्रमुख मुलुकको विकासमा नागरिक स्वयंमा चेतना हुनु आवश्यक रहेको स्पस्ट पार्छन्। विधिको शासनमा सबै अभ्यस्त हुनु नै विकासको पहिलो खुड्किलो रहेको उनको भनाइ छ।

तुम्बाहाङका दुई छोरा अष्ट्रेलिया र बेलायतमा रहे पनि एक छोरी उदयपुर अस्पतालमा दन्तरोग विशेषज्ञका रुपमा कार्यरत छिन्। त्यसैगरी श्रीमती संगीता सुब्बा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन्। कीर्तिपुरमा हुँदा फोनको सहारा रहने गरेको भए पनि हाल राजधानी विराटनगरमा भने भेटघाटका लागि श्रीमती सुब्बा आउने गरेको उनले बताए।

मधुमेहको विरामी उनी विहान र दिउँसो चिनी बिनाको दुधचिया मन पराउँछन्।

यात्राका क्रममा भात नै रुचाउने प्रमुख तुम्बाहाङले घरमा भने ४ वटासम्म सुख्खा रोटी खाने गरेका छन्। मासुको परिकार रुचाउने उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय सिनासमा हुदा अधिकांश समय भान्छाघरमा खाना बनाउन आफैँ अघि सर्थे। त्यसक्रममा खाना बनाउने मात्र नभएर खाएको भाडा समेत माझ्ने गरेको अनुभव बताएका प्रमुखले परिवारसँग टाढा हुने बानी त्यहीसमयदेखि रहदै आएको बताए।

उनले आफ्नो सचिवालयले पूर्णता नपाएकोमा दुखेसो ब्यक्त गरे। आफूसँग सचिवालयमा काम गर्ने सोच रहेको भए पनि बस्ने ठाउँको अभाव छ। आफ्नो कार्यालयमा समेत समय दिन नसकेको दुख ब्यक्त गर्दै उनले भने, ‘एउटा कोठा दिइएको छ, त्यहाँ कर्मचारी कहाँ राख्ने कता बसाउने पिरलो गरेको छ।’

पहिलेको प्रिपेड फोन नम्बर साथीका लागि अझै पनि साथै राख्ने गरेको बताएका उनले भने, ‘साथी भाइले फोन गर्छन्, आफू त्यही बोक्छु।’

काठमार्डौमा घरनिर्माण गरिरहेका प्रमुख तुम्बाहाङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् ।

फाल्गुन १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्