धितोपत्र बोर्डका अध्यक्षले गरे ५ दिने किरिया

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की।

काठमाडौँ-  मृत्युपछिको किरिया पाँच दिनमा झार्न बहस चलिरहँदा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पाँच दिने किरिया गरेका छन्।

कार्कीले गत शुक्रबार निधन भएकी ८७ बर्षिय आमा राधादेवी कार्कीको किरिया ५ दिनमा सम्पन्न गरेका हुन्।

कार्कीले देश सञ्चारसँग भने, ‘ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्कीसमाजको ५ दिने किरिया अनुशरण गर्ने निर्णय गरेकाले पनि ५ दिनको किरिया गरेका हौँ।’

उनले समाजले १३ दिनको किरिया गर्न पनि छुट दिएको बताए। कार्की समाजका सचिव हुन्।

‘छोरालाई आफ्नो निधनमा ५ दिनको किरिया गर्न भनेको भए पनि हामी तीन भाइले आमाको किरिया १३ दिनकै गर्ने कि भनेर सोचेका थियौं। ५ दिनको किरिया गर्नुपर्छ भन्ने अभियान चलाउने हामीले नै ५ दिनको किरिया नगर्ने हो भने अरुले झनै गर्दैनन् भन्ने लाग्यो,’ उनले भने, ‘आमालाई हामीले ५ दिनको किरिया गर्नुपर्छ भन्ने अभियान चलाईरहेका छौं भन्ने थाहा थियो तर हामीले उहाँसँग ५ दिनको किरिया गर्नेछौं भनेर भएका थिएनौं। हामी भाइहरुले ५ दिनको किरिया गर्ने कि भनेर सल्लाह गर्‍यौँ, त्यसमा ८८ वर्षीय पिताले सहमति दिएकाले पनि हामीलाई सहज भएको हो।’

उनले १० दिनमा फुटाउने ढिकुरो ३ दिनमा फुटाएको र १२ दिनमा गर्नु पर्ने कर्म चौथो दिनमा गरेको र तेर्हौं दिनमा गर्नुपर्ने कर्म पाचौं दिनमा गरेको बताए। सरकारको नियमानुसार १५ दिनको किरिया बिदा मिल्ने भए पनि कार्कीले आइतबारबाट नियमित काममा जाने बताए।

उनले किरियाकर्म १३ दिनसम्म गर्ने संस्कार बिस्तारै पाँच दिनमा झर्ने दाबीसमेत गरे। ‘समाजमा एकैपटक सुधार हुँदैन, समय लाग्छ,’ कार्कीले भने, ‘विगतमा १३ वर्ष र १३ महिनासम्म किरिया गर्ने चलन थियोे। अहिले धेरैले १३ दिनको किरिया गर्छन्। बिस्तारै ५ दिनको किरिया गर्नेपनि बढ्दै जानेछन्।’

फाल्गुन १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्