नेपालमा लगानी गर्न थाई व्यवसायी  इच्छुक

बैंकक-थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीले थाइल्याण्ड र नेपाल बीच अर्थतन्त्रलाई मजदुत बनाउन व्यवसाय  साझेदारीका धेरै सम्भावना रहेको बताएका छन्।

नेपाली राजदुत बैंककले आयोजना गरेको नेपालमा व्यवसायका अवसर प्रवर्द्धन सेमिनारमा बोल्दै अधिकारीले दुई देश बीचका जनतामा प्रगाढ सम्बन्ध रहेको भन्दै व्यवसायिक साझेदारीबाट अगाडि बढ्ने धेरै अवसरहरु रहेको बताए ।

बौद्ध धर्म प्रति थाइहरुको उच्च सम्मान रहेकाले पनि अरु मुलुक भन्दा नेपालमा थाइ लगानीकर्ता इच्छुक रहेको उनको भनाई थियो।

राजदुत अधिकारीले जल ऊर्जा, कृषि, पर्यटन, लगायतका विविध क्षेत्रमा लगानीको लागि राम्रो अवसर भएको बताए।

थाइ उद्योग महासंघका अध्यक्ष क्रेनकाई थेनुकुलले नेपालमा थाईल्याण्डबाट मेशिनरी पार्टस, कच्चा उन, गाडिका पार्ट पुर्जा, औषधि, इलेक्ट्रिकल सामाग्री, टेक्सटायल लगायतका सामान निर्यात हुने बताए।

उनले नेपाल र थाइल्याण्ड ब्यवसायको राम्रो साझेदार बन्ने सक्ने भन्दै थेनुकुलले नेपालबाट हस्तकलाका सामाग्री, गलैचा, जुटका उत्पादन, अदुवा, ज्वेलरी लगायतका अन्य उत्पादनहरु आयात हुने गरेको बताए । थेनुकुलले नेपालमा लगानी गर्न आफुहरु इच्छुक रहेको बताएका थिए।


नेपाल थाइ च्याम्बरका उपाध्यक्ष कृष्ण सिवाक्रिस्कुलले औद्योगिक क्षेत्रबाट नेपालको विकासमा सघाउन इच्छुक रहेको बताए ।

उनले दुई देश बीचको दौत्य सम्बन्ध निकै सुमधुर रहेकोले आर्थिक सम्बन्धलाई मजबुत बनाउन पनि प्रयास गर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ महिला उद्यम विकास समितिका सभापति कमला श्रेष्ठले नेपाल थाइल्याण्डबीच औद्योगिक ब्यापार नीति मार्फत द्धिपक्षीय आर्थिक विकासकालागि जोड दिनु पर्ने बताइन् ।

नेपालमा लगानीको संभाब्यता अध्ययन गरी कुटनीतिक रुपबाटै आर्थिक विकासकालागि पहल गरिनु पर्छ । उनले भनिन् ‘नेपाली राजदुताबास मार्फत कुटनीतिक सम्बन्ध विस्तार गरी आर्थिक सम्बन्ध बलियो बनाउन अब पहल गर्नु पर्दछ ।’

नेपाल लगानीबोर्डका सहसचिव उत्तम भक्त वाग्लेले नेपालको लगानीको संभाब्यताको बारेमा प्रस्तुती राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमा ११ वटा ब्यवसायीक क्षेत्रका ब्यवसायि उद्यमीबीच बिजनेस टु बिजनेस मार्फत ब्यवसायिक अनुभव र साझेदारीका विषयमा समेत छलफल गरिएको थियो ।

 

फाल्गुन १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्