बै‌ंक घोटाला प्रकरणमा दुई कर्मचारीमाथि मुद्दा

बैंक घोटाला प्रकरणमा मुद्दा चलाइएका दुई कर्मचारी। तस्बिर: देशसञ्चार

विराटनगर- विराटनगरको रानी भन्सार नाकास्थित सुख्खा बन्दरगाहको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक घोटाला प्रकरणमा प्रहरीले दुई कर्मचारीलाई मुद्दा चलाएको छ।

९ करोड ६१ लाख ५५ हजार रुपैयाँको आर्थिक घोटालाका क्रममा पक्राउ परेका बैँक शाखा कार्यालयका प्रबन्धक विष्णुप्रसाद निरौला र वरिष्ठ सहायक तोर्णराज राउतमाथि मुद्दा अघि बढाइएको मोरङ जिल्ला प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै दुवै बैंक कर्मचारीविरुद्ध बैंक कसुर र सजाय ऐन २०६४ अनुसार मुद्धा अघि बढ्ने प्रहरी प्रमुख बीसीले जानकारी दिए। यसबीच प्रहरीले आफ्नो अनुसन्धानपनि जारी राख्नेछ।

दुवैलाई भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहरासँग मिलिभगत गर्दै करोडौँ रकम हिनामिना गरेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

दुई साताअघि राजस्व भन्सारको खातामा रकम दाखिला नभएको घटना सार्वजनिक भएको थियो। त्यसको केही दिनअघि नै एजेन्ट बोहरा दाजुभाइ फरार अवस्थामा छन्। प्रहरी उपरीक्षक बीसीका अनुसार फरार बोहरा दाजुभाइको खोजी तीव्र बनाइएको छ।

भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा बाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स बील भन्सार एजेन्टलाई दिने गरेको थिए। यद्धपि एजेन्ट बोहरा दाजुभाइले भने, बैंकमा रकम जम्मा नगर्ने गरेको बताइएको छ।

भन्सार एजेन्टले विभिन्न बैंकको चेक दिए पनि खातामा पर्याप्त रकम छ, छैन भन्ने विषयमा नबुझी बाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स बील उपलब्ध गराएका कारण यस घोटालामा बैंकका कर्मचारीको संलग्नता पुष्टि भएको प्रहरी प्रमुख बिसीको भनाइ छ।

प्रहरीले बैंकका वरिष्ठ सहायक राउतलाई फागुन २ गते, शाखा प्रबन्धक निरौलालाई १५ गते पक्राउ गरेको हो।

क्लियरेन्सका क्रममा एजेन्ट्सद्धयले नविल, सिटिजन, एबिआई, सिद्धार्थ, नेपाल बंगलादेश बैंकलगायत आठवटा एकाउन्ट पेयी चेक बैंकलाई बुझाएका थिए। तर एजेन्टको खातामा प्रर्याप्त रकम नभएको पाइएको थियो।

अनुसन्धानका क्रममा यसअघि प्रहरीले एजेन्ट्सद्यसँग कारोबार गर्दै आएका विभिन्न ४६ वटा उद्योग २०७४/७५ भन्दाअघिको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। प्रहरी प्रमुख बीसीका अनुसार मोरङ–सुनसरी देखि झापा, पर्सा र काठमाडौका उद्योगीले बोहराको सुरेश क्लियरिङ एण्ड फरवाडिङ सर्भिस मार्फत कारोबार गरेको देखिएपछि कारोबारको विवरण बुझाउन पत्रचार गरिएको हो।

फाल्गुन १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्