राष्ट्रपति चयनको मतदान संसद भवन बानेश्वरमा हुने

फाइल फोटो।

काठमाडौँ- फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवनमा मतदान हुने भएको छ।

सातवटै प्रदेशका सांसदसमेत राष्ट्रपति चुनावका मतदाता हुने भए पनि निर्वाचन आयोगले काठमाडौं मात्र मतदान केन्द्र राख्ने भएको हो।

आयोगले बिहीबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोगले पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ। निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माका अनुसार सातवटै प्रदेशसभाका पाँच सय ५० जना सांसद र संघीय संसदका तीन सय ३४ जना मतदानका लागि संसद भवन पुग्नु पर्नेछ। आयोगले २१ गतेदेखि सुरु हुुने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गररेको छ। शर्माका अनुसार २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ।

२९ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ। कानुन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ।

फाल्गुन १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्