चोरी शिकारविरुद्ध लागेका पन्ध्र सय युवा बाँके आउँदै

नेपालगञ्ज– बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जको प्रचार प्रसार र युवाहरुलाई चोरी शिकार नियन्त्रण अभियानमा सहभागी गराउने उद्देश्यले चोरी शिकार नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान सञ्चालन गरिने भएको छ।
‘युवाको जागरण: बाघ–चितुवाको संरक्षण’ भन्ने मूल नाराका साथ विभिन्न निकुञ्ज तथा वन्यजन्तु आरक्षबाट एक हजार पाँच सयभन्दा बढी युवाहरु बाँकेमा आउन थालेका हुन्।
फागुन १९ गते चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र अन्तर्गत चोरी शिकार नियन्त्रण अभियानमा आवद्ध भएका एक हजार पाँच सय युवाहरु अभियानमा सहभागी हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काले बताए।
सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रम, हात्तीसार उद्घाटन, संरक्षण सम्बन्धी विशेष जानकारीमूलक तथ्यांकहरु प्रस्तुत हुने अभियान कोहलपुरको खड्गवारमा सञ्चालन हुनेछ।
राष्ट्रिय स्तरको चौथो अभियानले बाँके जिल्लामा पर्यापर्यटनको विकास र जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०६७ असार २८ गते बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो। बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्जमा हाल १३ वटा बाघ रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले बताए। निकुञ्जले हात्ती र जीप सफारीको तयारी थालेको छ। १० वटा हात्तीको दरबन्दी रहेको निकुञ्जमा हाल चार वटा मात्रै छ।
‘६ वटा पनि एक महिनाभित्र आइपुग्छ, अनि हात्ती सफारी सहज गर्छौ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘हात्ती र जीप सफारी सहज हुने बित्तिकै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्छ।’
बाँकेमा बाघसँगै अति दुर्लभ मानिएको चौसिंगा/चौका हेर्न सकिन्छ। बाघको संख्या बढाउने अभियान थालेको निकुञ्जले उसको आहारा प्रजातिको बृद्धिमा पनि विशेष ध्यान दिएको छ।
प्रमुख संरक्षण अधिकृत पुनले बाघका आहारा प्रजातिको बृद्धिका लागि घाँसेमैदान र ठाउँ ठाउँमा पानीको व्यवस्था गरिएको छ।
निकुञ्जमा बाघको संख्या बढ्दै गएको र आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचिदै गएपछि निकुञ्ज आसपासमा होमस्टे, कटेजहरु बढेका छन्। पर्यटकलाई लक्षित गरी अगैयामा र्याफ्टिङ, बोटिङको अध्ययन थालिएको छ।
चोरी शिकार नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिहरु गठन गरेको छ जहाँ नौ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति गठन भइसकेका छन्। समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाई सञ्जाल गठन गरिएको छ। यसमा एक हजार बढी युवाहरु सहभागी रहेको बताइएको छ।
मध्यवर्ती र आसपासमा चोरी शिकार नियन्त्रणका लागि हतियार कब्जाको नीतिलाई निरन्तरता दिने काम भइरहेको छ। प्रमुख संरक्षण अधिकृत पुनले १ सय ४६ थान हतियार स्थानीयले स्वस्फूर्त रुपमा बुझाएको बताए। ‘केही बेवारिसे र केही बरामद गरिएका छन्,’ पुनले भने।