छत्तीसगढमा प्रहरी र माओवादीको भीडन्त, १० विद्रोही र एक प्रहरी मारिए

नयाँ दिल्ली-भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको समाचार छ।

उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको सो भिडन्तमा परी एकजना प्रहरी पनि मारिएको सो समाचारमा जनाइएको छ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ। उक्त समाचारअनुसार छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो।

उक्त भिडन्तका क्रममा अरु केही विद्रोही घाइते पनि भएको बताइएको छ। तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि यी दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए।

सो आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएका थिए । उक्त जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको थियो ।

मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन्। मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ।

आजसम्म यस विद्रोहमा परी कम्तीमा पनि छ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा यो नक्सलाइट विद्रोहलाई सुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ। सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै दिएको एक सार्वजनिक अभिव्यक्तिमा यसलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिइएको बताइएको छ।

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्