कान्तिपुरले सर्वोच्च अदालतमा आज बयान दिन पाएन

सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग शुक्रबार कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया। तस्बिर: प्रकाश ढकाल

काठमाडौँ- आफूलाई लागेको अदालतको अवहेलना मुद्दामाथि बयान दिन कान्तिपुर दैनिकका प्रकाशक, प्रधान सम्पादक र संवाददाता  सर्वोच्च अदालत पुगे पनि उनीहरुलाई आइतबार आउनू भनेर अदालतले फर्काइदिएको छ।

शुक्रबार कार्यालय समय सकिएको र बयानको सम्पूर्ण प्रक्रिया पूरा गर्न नभ्याइने भन्दै उनीहरुलाई फर्काइएको कान्तिपुरतर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिएका हुन्।

सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै परेको मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले कान्तिपुरलाई बयानका लागि बोलाएको थियो।

सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग शुक्रबार कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वस्तिका सिरोहिया। तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्‍चार

बयानका लागि कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र संवाददाता कृष्ण ज्ञवाली शुक्रबार २ बजे अदालत पुगेका थिए।

यद्पि उनीहरुलाई आइतबारमात्र आउनू भनेर फिर्ता पठाइदिएको वरिष्ठ अधिवक्ता थापाले जानकारी दिए।

प्राविधिक हिसाबले आज नभ्याइएन भनेर अदालत प्रशासनले फिर्ता पठाइदिएको कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले जानकारी दिए। ‘हामीले आजै बयान सुरु गरौँ भनेर भनेका थियौँ, उहाँहरुले आइतबार साढे दस बजे आउनू भनेर फिर्ता पठाउनुभयो,’ शर्माले अदालत परिसरमा पत्रकारहरुसँग भने।

कान्तिपुरका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले पनि आजै बयान लिन अदालतलाई आग्रह गरे पनि आइतबार आउनू भनेर फर्काइदिएको जानकारी दिए।

 

 

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्