अन्तत: सलमान नअाउने नै भए, नेपाली फ्यान निराश

काठमाडौँ- अन्तत: बलिउडका सुपरस्टार सलमान खानको बहुप्रतिक्षित नेपाल भ्रमण स्थगित भएको छ। यसले सलमानका नेपाली फ्यानहरुलाई निराश तुल्याएको छ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको जनसांस्कृतिक विभागले उनलाई नेपाल नआउन आग्रह गरेपछि उनले नेपाल आउने मनस्थिति परिवर्तन गरेको आयोजकसम्बद्ध स्रोतले जानकारी दिएको छ।

सुपरस्टार सलमान खानसहित नायिका सोनाक्षी सिन्हा, डान्सर प्रभु देवा, मिट ब्रदरसहितको टोलीले नेपालमा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो।

ओडिसी इन्टरनेसनलसम्बद्ध स्रोतले सलमान नआउने जानकारी दिँदै यसबारे औपचारिक सूचना केही समयपछि दिइने जानकारी दिएको छ।

सलमानका भाइ एवम् अभिनेता सोहेल खानले केही साताअघि काठमाडौँ आएर सलमान आउने औपचारिक जानकारीसमेत गराएका थिए।

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्