एक क्लिकमा घरमै आइपुग्छ नुनतेल

काठमाडौँ- नुन र तेल किन्‍न सात-आठ दिन पैदल यात्रा गरेका धेरै मानिस अझै जीवित छन्। घरनजिकै किराना पसलहरु खुल्ने क्रम बढेको पनि धेरै समय भयो। प्रविधिमा भएको विकाससँगै एक फोन, एसएमएस वा क्लिकबाट नुन, तेल घरको ढोकासम्म ल्याउने व्यवसाय सुरु भएको छ।

इन्टरनेटका माध्यमबाट लत्ताकपडा, फोन, घडी, जुत्ता लगायतका सामान धेरै नेपालीले किन्दै आएका छन्। तर, दैनिक जीवनमा आवश्यक पर्ने किराना सामानहरु ‘मेरो किराना’ ले घरघरमै ल्याई दिन्छ।

‘मेरो किराना’ गत साउनबाट सञ्चालनमा आएको नयाँ इ-कमर्स पोर्टल हो।

एक युवा दशैंमा किराना सामान किन्‍न भाटभटेनी पुग्दा पार्किङको अभाव महसुस गर्छन्।

युवाको एक टोली काठमाडौंमा कस्ता कस्ता समस्या छन् भनेर लिस्ट तयार पारिरहेको थियो। उनीहरुले तिहारमा ग्रोसरी सामान किन्न न्युरोड, असन पुग्नेले पनि पार्किङको समस्या भोगेको देखे।

किरानाको सपिङमा पार्किङ अभाव उनीहरुको समस्याको लिस्टमा पर्‍यो।

समस्याको लिस्ट तयार पार्ने युवा थिए; सागरदेव भट्ट र आदर्शराज पाण्डे। उनीहरु ‘माचनेट’ आइटी कम्पनीमा सँगै काम गर्थे।  लिफफ्रगले नै माचनेटमा लगानी गरेकाले सागरदेव लिफफ्रगमा पनि काम गर्थे।

इ-कमर्स सम्बन्धी विभिन्‍न एप्लिकेसन र सफ्टवेयर बनाएका उनीहरुलाई इ-कमर्सकै व्यवसाय गर्ने चाहना थियो। इन्जिनियरिङपछि एस कलेजबाट एमबिए गरेका भट्ट र अमेरिकाबाट एमबिए गरी नेपाल फर्किएका पाण्डेले भाटभटेनीमा ग्रोसरी सामान किन्दा भोगेको समस्या समाधान गर्ने सोच बनाए।

किरानाको अनलाइन बिजनेस हुन् सक्छ जस्तो उनीहरुलाई लाग्यो। सागरले भने, ‘यस बिषयमा कल्याणसँग पनि सल्लाह गर्यौं।’

अनलाइन सपिङ पोर्टल केमुमा काम गरिरहेका  कल्याण अधिकारीले भट्ट सँगै एस कलेजबाट एमबिए गरेका थिए। कल्याणले सुनाए, ‘सागरसँग २०११ देखिकै चिनजान थियो। मलाई पनि केही नयाँ गरौँ भन्ने हुटहुटी थियो।’

‘व्यवस्थापनको बिद्यार्थी भएर पनि मलाई अनलाईन बिजनेसको लत बसिसकेको थियो,’ उनले थपे।

‘ग्रोसरीको अनलाइन बिजनेस हुन सक्छ भन्ने हामीलाई लाग्यो,’ , ‘इन्टरनेटमा खोज्यौं तर ग्रोसरीको अनलाइन बिजनेस कतै पनि पाएनौं’, सागरले थपे।

बिगतका अनलाइनको अनुभवबाट उनीहरुले के सोचे भने सिधै कम्पनी दर्ता गरेर बिजनेस सुरु गर्नुभन्दा एकपटक रिसर्च गर्नुपर्छ।

रिसर्चका लागि लोकेसन छाने बानेश्वर र स्याम्पल साइज थियो तीन हजार।

‘गर्ल्स इन टेक्नोलोजीलाई रिसर्चको जिम्मा दियौं,’ भट्टले उत्साहित हुदैँ भने, ‘रिसर्चको रिजल्ट त हामीले सोचेभन्दा निकै राम्रो आयो। गत फागुनमा रिसर्चको रिजल्टपछि कम्पनी दर्ता गर्‍यौँ। र, नाम जुराइयो किराना पसल।’

भट्टले भन्छन्, ‘तपाईँले घर नजिकैको किराना पसलले ग्रोसरी बाहेकका सामान बेचेको देख्नु भएको छैन होला नि! हो, त्यसैगरी हाम्रो किरानाले पनि लुगा कपडा, मोबाइल, घडी कहिल्यै बेच्दैन।’

रिसर्चको पोजेटिभ रिजल्टपछि बजारमा राम्रो चलिरहेको केमुबाट राजिनामा गरेर किराना पसलको लिड गरे कल्याणले।

सुरुको ३ महिना कल्याण एक्लैले प्रोडक्ट सेलेक्ट गर्ने भेन्डर फाइनल गर्ने काम गरे। बिगतमा फर्किदै कल्याण सुनाउँछन्, सागर र आदर्श दाइसँग हुने बिहान बेलुकाको भेटमा आइडिया सेयर हुन्थ्यो। बिजनेस राम्रो हुन्छ भन्नेमा सकारात्मक थियौं तर ग्रोथ कस्तो होला भन्‍ने कौतुहलता थियो।’

साउनमा किराना लन्च भयो, बजारबाट अर्डर आउन थाल्यो। सागर, कल्याण र आदर्शको उत्साह बढ्यो। कल्याण प्रोडक्ट थप्नमा व्यस्त हुन थाले। एक्लै काम नभ्याइने भयो। सागर र आदर्शले पनि ‘लिप फ्रक’ छोड्ने योजना बनाए। साउनदेखि सेवा सुरु कम्पनीमा सागर र आदर्श पनि गत पुसबाट फुलटाइमर भएका छन्। अहिले १६ जना किराना काम गरिरहेका छन्।

सागरले किरानाको कार्यालयमा देशसञ्चारसँग भने, ‘हामी प्रोडक्ट थप्दै गर्छौं। ग्राहकले हामीलाई तपाईँहरुसँग सामान नै छैन भन्छन्। अहिले किरानाको लिस्टमा ३ हजारभन्दा धेरै प्रोडक्ट छन्।’

किरानाका ३ जना संचालकले आफ्नो दक्षताको क्षेत्र लिड गरेका छन्। ‘डिजिटल मार्केटिङको राम्रो नलेज भएकाले ‘मेरो किराना’ को डिजिटल मार्केटिङ आदर्शले हेर्छन्; इ-बिजनेसको अनुभव भएकाले कल्याण लजिस्टिक म्यानेजमेन्ट र भेन्डरसँगको रिलेसन बनाउन व्यस्त हुन्छन् भने  एप्लिकेसन र वेबसाइट डिजाइनको पार्ट  सागरले हेर्ने गरेका छन्।’

कानुनी प्रक्रियाको लागि कम्पनीको अध्यक्ष आदर्शराज पाण्डे भए पनि कम्पनीमा सबै एउटै स्तरमा रहेको उनीहरु बताउँछन्। ‘अहिले बिजनेस ग्रो गर्ने समय हो,’ सागरले भने, ‘दिनमा ४० देखि ५० अडर आउँछ, त्यसलाई बढाउने चुनौती छ।’

सागर किरानाबाट सपिङ गर्दा बजार मूल्य भन्दा सस्तोमा सामान दिने दाबी गर्छन्। उनले भने, ‘कसैले हाम्रो भन्दा सस्तो मूल्यमा किनेर मूल्य अभिवृद्धि कर तिरेको वा प्यान बिल ल्यायो भने हामीले बढी लिएको पैसा फिर्ता नै गर्छौं।’

उनले गुणस्तरमा पनि किरानाले सम्झौता नगर्ने दाबी गरे। ‘हामी जस्तो सामान क्लेम गर्छौं, त्यस्तै डेलिभरी दिन्छौं। किरानाको तेश्रो विशेषता भनेको ग्राहकको उपयुक्त समयमा ढोकामै समान डेलिभरी दिने हो।’

उनी भन्छन्, ‘ग्राहकले फोन, इमेल, वेबसाइट, फेसबुकबाट अर्डर गर्न सक्छन्।’

ग्राहकबाट मिल्ने सकारात्मक प्रतिक्रियाले निकै उत्साहित बनाएको छ। कल्याणले भने, ‘बेलुका अफिस बन्द गर्ने बेला असनबाट ‘आज बेलुका खान पनि चामल छैन, तपाईहरुले ल्याइदिनु भएन भने त हामी भोकै रहन्छौं भनेर अडर आउँछ।’

घरको माथिल्लो तलामा बस्ने महिलाहरु, गर्भवती महिलाले लगायतले तपाईँहरुले गर्दा हाम्रो दैनिकी सजिलो भएको छ भन्दा काम गर्न उर्जा मिल्ने उनी बताउँछन्।

अहिले त श्रीमान् श्रीमती नै काम गर्छन, घरमा सक्किएको सामान किन्न समय नै हुँदैन। त्यस्ता मानिसहरुले हामीलाई अर्डर दिने गर्छन्। सागरले भने, ‘छोराछोरी विदेश हुन्छन्, यहाँ बस्ने वृद्ध आमाबुवाहरुले तपाईहरुले हामीलाई धेरै सजिलो पार्नुभयो भन्नुहुन्छ।’

घर नजिकैको किराना पसलमा पाइने सम्पूर्ण सामान उपलब्ध गराउने उनीहरुको लक्ष्य छ। ‘अहिलेसम्म हामीसँग ग्यास थिएन, कानुनी प्रक्रिया पुरा गरिसकेकाले अबको १ महिना भित्र ग्याँस पनि बेच्ने योजना छ। जारको पानी के गर्ने भन्ने बिषयमा अझै सोचेका छैनौं, उपभोक्ताको मागमा भर पर्छ,’ सागरले भने।

‘हामी धेरै नेपाली चिया पकाउन राखेको पानी तातेपछि चिनी किन्न पसल जान्छौं। त्यस्तो ग्राहकहरुलाइ हामी सेवा दिनै सक्दैनौं,’ सागरले भने, ‘हाम्रो टार्गेट भनेको योजनाबद्ध रुपमा सपिङ गर्ने समूह हो। अन्य मानिसहरुलाई योजनाबद्ध रुपमा सपिङ गर्न उत्प्रेरित गर्ने हाम्रो सोच हो।’

हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको किरानाले रिंगरोडभित्र फ्री डेलिभरी सेवा दिएको छ। २ हजार रुपैयाँभन्दा माथिको सपिङमा रिंगरोड बाहिर पनि कुनै शुल्क लिदैन। रिंगरोडबाहिर २ हजार रुपैयाँभन्दा कमको सपिङमा भने ५० रुपैयाँ डेलिभरी शुल्क लिने गरेको छ।

अबको योजना?

सागरले भने, ‘अनलाइन विजनेसको कारोबार डिजिटल हुनु पर्छ भन्ने हाम्रो योजना हो। हामी सामान डेलिभरी गर्न जाँदा वायरलेस स्वापिङ मेसिन लिएर जान्छौं। फिजिकल क्यासभन्दा डिजिटल क्यास दिन प्रमोट गर्छौं।’ नबिल बैंकको कार्डबाट पेमेन्ट गर्दा किरानाले ५ प्रतिशत छुट दिइरहेको छ। धेरै संस्थाले बैंकसँग मिलेर ग्राहकलाई कार्डबाट गरेको पेमेन्ट  डिस्काउन्ट दिने गरे पनि किरानाले कार्ड युजमा इन्करेज गराउन आफ्नो बजेटबाट डिस्काउन्ट दिइरहेको सागर दाबी गर्छन्।

‘नेपालका अन्य इ-कमर्सको डेलिभरी मिनिमम् ३ देखि ४ दिन छ, हाम्रो उद्देश्य भनेको अर्डर आएको अर्को दिन नै डेलिभरी दिने हो,’ सागरले भने, ‘त्यसका लागि हामीले सिस्टममा धेरै लगानी गरेका छौं।’ एउटा डेलिभरी भ्यान, ३ मोटरसाइकल, सफ्टवेयर, रिसर्च गरी करिब १ करोड रुपैयाँ लगानी गरिसकेको सागर बताउँछन्।

सागरले ३ वर्ष भित्रमा कम्तिमा ८ जिल्लामा सेवा बिस्तार गर्ने बताए।  हाम्रो डेलिभरी टाइम कम हुने भएकाले फिजिकल्ली उपस्थित नभएसम्म सेवा विस्तार हुन सक्दैन। सेवा विस्तारसँगै लगानी पनि बढाउने उनीहरुको योजना छ। सागरले सुनाए, ‘हाम्रो लगानी १० करोडभन्दा माथि जान सक्छ।’

कल्याणले भने, ‘बिजनेससँगै डिजिटलाइजेसनमा सपोर्ट गर्ने हाम्रो लक्ष्य हो।’

कुराकानीको अन्त्यमा सागरले भने, ‘समस्याको लिस्टबाट एउटा बिजनेस सुरु गरेका छौं। भविष्यमा अन्य समस्याको पनि व्यवसायिक सोलुसन दिने हाम्रो योजना छ। हेदै जाउँ… ।’

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्