खतरनाक परम्परा

सामान्यतया: संसद गठनसँगै औपचारिकरुपमा त्यसका अध्यक्ष या सभामुखको निर्वाचन नभएसम्मका लागि सदन सञ्चालनका लागि ‘प्रोटेम’ या अस्थायी अध्यक्षको छनोट हुने गर्छ। परम्पराअनुसार उक्त अस्थायी पदका लागि चुनिएकामध्ये ज्येष्ठतम सांसदलाई छान्ने गरिन्छ।

अनुभव, उमेरको ज्येष्ठताका कारण प्राप्त हुने विवेक, ज्ञान र तिनको सम्मानस्वरुप त्यो परम्परा स्थापित भएको हुनुपर्छ। नेपालले यही परम्परा अँगाल्दै आएको छ। नेपालको संविधान २०७२ अन्तर्गत निर्वाचित पहिलो संसदको प्रोटेन सभामुखको शपथ र उनीद्वारा नवनिर्वाचित सांसदहरुको शपथ आइतबारलाई तोकिएको छ।

राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वाचित महेन्द्र राय यादवको नागरिकतामा उल्लेखित जन्ममितिका आधारमा उनलाई ज्येष्ठतम सदस्य मान्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई आइतबार शपथ गराउँदै छिन्। गलत विवरण भरेर आफ्नो उमेर ८० वर्ष पुगेको यादव आफैँले पनि स्वीकार गरेका छन्। संसदमा गलत या असत्य बयान दिने मन्त्री पदमुक्त हुने परम्परा सर्वत्र छ। तर, आफैँबारे असत्य विवरण पेश गरेको व्यक्ति अध्यक्षको आसनमा स्थापित भएमा सामूहिक रुपमा संसदसमेत कलंकित र त्यो असत्यमा भागिदार हुनेछन्। संविधानको संरक्षकका रुपमा अस्तित्वमा रहेको राष्ट्रपतिले यी तथ्यलाई बेवास्ता गर्दै वास्तविक उमेर ६३ वर्ष भएका यादवलाई शपथ गराएमा शीतलनिवास पनि कलंकित हुनेछ।

यादवले नागरिकता लिने क्रममा दिएको व्यक्तिगत विवरणपछाडि कुन नियत थियो भन्न सकिन्न। त्यसलाई असल नियत मानिए पनि गलत विवरणमा आधारित नागरिकता प्रमाणपत्रकै कारण संसदको प्रोटेम स्पिकरको पद किन्न सकिँदैन। असत्यलाई  नै अकाट्य आधार मानेर राष्ट्रपति भण्डारीले यादवलाई शपथ गराउने हो भने कीर्ते राजनीति र कीर्ते संवैधानिक संस्कारले भोलिको राजनीतिलाई निर्देशित गर्नसक्छ। संसदले उनलाई आफ्नो जन्ममिति सच्याउने अवसर दिनसक्छ तर असत्यलाई इनाम दिन मिल्दैन।

सामान्यतया: सभाध्यक्षको आसनबाट दिइने नियमन या आदेशबिरुद्ध अदालतमा समेत मुद्दा लाग्दैन। यादवको असत्य विवरणले अवांछित इनाम पाई उनी त्यो कुर्सीमा बसे भने उनले दिने आदेश नियमसंगत र सत्यमा आधारित होला?

 

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्