अफगानिस्तान क्रिकेट : परी कथाजस्तै, नेपाल लगातार पाठक

अफगानिस्तानको क्रिकेट टिम । तस्बिर : गेट्टी इमेज

काठमाडौं– अफगानिस्तानमा तालिवानको आतंकका कारण धेरै अफगान पाकिस्तानमा शरर्णाथी बन्न बाध्य थिए। यता पाकिस्तानमा क्रिकेटको वातावरण निकै राम्रो थियो।

शरणार्थी शिविरमै रहेका बेला अफगानले क्रिकेट खेल्न सिके, अफगान क्रिकेट बोर्ड बनाए। सन् १९९० को दशकको अन्त्यतिर अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्कन थाले। तर अफगानिस्तानमा रंगशालासहित सबै खेल क्षेत्र तालेवानको नियन्त्रणमा थियो।

तालिवानको अनुमति बिना त्यहाँ खेल्न असम्भव थियो। सन् २००० मा तालिवानले क्रिकेटमात्र खेल्न अनुमति दिए। अर्को वर्ष आइसिसीले सदस्यता प्रदान गर्‍यो। अफगानिस्तानभित्रको गृह युद्ध र बाह्य हस्तक्षेपबीच त्यहाँ क्रिकेट खेल्नु वा हुर्कनु सजिलो थिएन। सन् २००४ सम्म पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अफगान क्रिकेट टोलीलाई घरेलु प्रतियोगितामा खेल्न दियो।

सन् २००४ मा एसिसी ट्रफी खेल्दै अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रवेश गर्‍यो। उक्त प्रतियोगितामा अफगानिस्तान छैटौं बन्यो। सन् २००६ मा आयोजना भएको त्यस प्रतियोगिताको अर्को संस्करणमा भने अफगानिस्तान तेस्रो बन्यो, नेपाललाई पराजित गर्दै ।

त्यसको एक वर्षपछि अफगानिस्तानले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्यो, एसिसी टीट्वेन्टी कपका रुपमा। अफगानिस्तानले यो प्रतियोगितामा आफू सहभागी भएका सबै संस्करण जितेको छ।

उसले सन् २०१० मा आयोजना भएको एसिसी ट्रफीको पनि उपाधि जित्यो। यस सफलताले एकदिवसिय स्वरुपका सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा अफगानिस्तानको उपाधि यात्रा सुरु भयो। उसले सन् २०१४ मा आयोजना भएको एसिसी प्रिमियर लिगको पनि उपाधि जितेको थियो।

उसले सन् २०१४ मा आयोजना भएको एसिसि प्रिमियर लिग पनि जित्यो। सन् २००९ मा आयोजना भएको एसिसी यू–१९ एलिट कपको सेमिफाइनलमा पराजित भएपछि यस प्रतियोगितामा नेपालको दबदबा अन्त्य भयो।

त्यसअघि यस प्रतियोगितामा नेपाल लगातार पाँचपटक फाइनल र चारपटक विजेता बनेको थियो। अफगानिस्तानले सन् २००९ को एसिसी यू–१९ मा उपविजेता बनेपनि त्यसपछि आयोजना भएका आफु सहभागी एसिसी यू–१९ प्रतियोगितामा अफगानिस्तान विजेता बनेको छ।

उसले सन् २०१० र २०१४ मा आयोजना भएको एसियन गेम्सको क्रिकेटतर्फ दोस्रो स्थान हात पारेको थियो। अफगान यू–१९ टोली सन् २०१६ मा आयोजना भएको एसिसि यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको थियो भने गत वर्ष आयोजना भएको पछिल्लो संस्करणमा विजेता बनेको थियो। अफगानिस्तान यसै वर्ष आयोजना भएको आइसिसी यू–१९ विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।

सिनियर विश्व क्रिकेटमा अफगानिस्तान

सन् २००४ मा पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अफगानिस्तानले १३ वर्षको अन्तरमा विश्व क्रिकेटमा सनसनी मच्चायो। उसले सिनियर क्रिकेटमा समेत पछिल्लो समय लगातार टेस्ट टोलीलाई पराजित गरिरहेको छ।

आइसिसीले गत वर्ष अफगानिस्तानलाई टेस्ट मान्यता प्रदान गर्‍यो। अफगानिस्तानले हालसम्म एक पटक एकदिवशिय विश्वकप खेलेको छ भने चार पटक टीट्वेन्टी विश्वकपमा सहभागी भएको छ।

दुईपटक प्रथम श्रेणीको प्रतियोगिता इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ भने एक पटक आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको उपविजेता बनेको छ।

विश्वकपमा सहभागिता गराउन र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिन आइसिसीले सन् २००७ मा ल्याएको वर्ल्ड क्रिकेट लिगमा अफगानिस्तानले रातारात छलाङ मार्‍यो।

सन् २००८ मा जर्सीमा भएको डिभिजन पाँचमा नेपाल र अफगानिस्तानले सँगै प्रतिस्पर्धा गरेका थिए। त्यही प्रतियोगितापछि अफगानिस्तानले सिनियर विश्व क्रिकेटमा नेपाललाई पछाडि पार्न थालेको हो।

उसले लगातार डिभिजन पाँच, डिभिजन चार र डिभिजन तीनको उपाधि जितेर सन् २००९ मा आयोजना भएको विश्वकपको विश्वस्तरको छनोट खेल्न सफल भएको थियो। १२ टोली सहभागी प्रतियोगितामा अफगानिस्तानले पाँचौं स्थान हात पार्‍यो र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि पाउन सफल भयो।

यसपछि अफगानिस्तानले एसोसिएट क्रिकेटमा माथिल्लो श्रेणीको प्रतियोगिताभन्दा पछाडि फर्कनु परेन। सन् २००९–१० मा आयोजना भएको प्रथम श्रेणीको प्रतियोगिता इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानले आयरल्यान्ड, जिम्बावेजस्ता टोलीलाई पछाडि पार्दै विजेता बनेको थियो। सन् २०१०मा आयोजना भएको एक दिवसीय स्वरुपको डिभिजन वनमा अफगानिस्तान तेस्रो भयो।

तर सोही प्रतियोगिताको २०११–१३ संस्करणमा अफगानिस्तान उपविजेता बन्योे। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहेका कारण अफगानिस्तान र आयरल्यान्ड सन् २०१५ को एकदिवसीय विश्वकपका लागि सोझै छनोट भए। उक्त विश्वकपमा चार वटा एसोसिएट टोलीलाई टिकट दिइएको थियो।

सन् २०११–१३ मा सम्पन्न इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तान उपविजेता बन्यो,आयरल्यान्डभन्दा पछाडि। सन् २०१५ को एकदिवसीय विश्वकपपछि आइसिसीले आयरल्यान्ड र अफगानिस्तान मुख्य वरियतामा रहेको भन्दै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डिभिजन वन) खेल्नु नपर्ने तर इन्टरकन्टिनेन्टल कप भने खेल्नुपर्ने निर्णय गर्‍यो।

आइसिसीको यही निर्णयका कारण डिभिजन दुईमा रहेका नेपाल र केन्याले गत वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएका थिए। अफगानिस्तानले सन्२०१५–२०१७ को इन्टरकन्टिनेन्टल कप पनि जित्यो, आयरल्यान्ड उपविजेता बन्यो। अफगानिस्तानले केही साता अघि सम्पन्न जिम्बावेविरुद्धको एकदिवशिय शृंखला जित्यो।

भर्खरै सम्पन्न अभ्यास खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई हराएको छ। अफगानिस्तानका भेट्रान खेलाडी मोहम्मद नाबीदेखि १६ वर्षिय स्पिनर मुजिब जद्रान विश्वका सबैभन्दा ठुला ब्यावशायिक क्रिकेट प्रतियोगिताको नजरमा परिरहेका छन्।

इन्डियन प्रिमियर लिगको अघिल्लो संस्करणमा रसिद खानले सनसनीपुर्ण प्रदर्शन गरेपछि यतिबेला अफगानिस्तान विश्व क्रिकेटमा शसक्त टोली बनेको छ। सन् २००९ मा आयोजना भएको एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटबाट प्राप्त गरेको सफलताकै आडमा अफगानिस्तानले अहिले विश्व क्रिकेटमा तहल्का मच्चाएको छ।

सन् २००७ पछि नेपालमाथि लगातार हाबी बनेको अफगानिस्तानबाट नेपालले सिक्ने धेरै ठाउँ छ। तर आजका दिनसम्म, नेपाल पाठक मात्र बनिरहेको छ। आइतबारदेखि जिम्बावेमा सुरु हुने विश्वकप छनोटबाट नेपाली सिनियर क्रिकेट टोलीले विश्व क्रिकेटलाई आफ्नो स्तर देखाउने अवसर र र चुनौती छ।

स्मरणीय छ, सन् २०१४ मा आयोजना भएको आइसिसी टीट्वेन्टी विश्वकपबाट नेपालले विश्वभरबाट प्रसंशा बटुलेको थियो। समूह चरणमा तीनमध्ये दुई खेलमा जित हात पार्दा पनि नेपाल अगाडि बढ्न सकेन। तर अफगानिस्तान र हङकङलाई पराजित गर्नु र विश्व क्रिकेटलाई नेपालको क्रिकेट क्रेज देखाउनु उल्लेख्य रहे।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्