ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकता : प्रचण्ड

अछाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो हप्तामा पार्टी एकताको घोषणा हुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबिच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारे । अध्यक्ष प्रचण्डले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए ।

स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्धको आधार इलाका रामारोशनलाई युद्ध पर्यटन क्षेत्रको रूपमा विकास गरिने आश्वासन दिँदै यहाँका तालहरू र वरिपरिको प्राकृतिक स्रोतको संरक्षणमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्