
काठमाडौं – विश्व वन्यजन्तु दिवस शनिबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा सरकारी स्तरमा कुनै कार्यक्रम नभए पनि वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत विभिन्न संस्था तथा संरक्षणकर्मीले कार्यक्रम गर्दैछन् ।
सन् २०१३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले गरेको निर्णय अनुसार हरेक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिएको हो ।
सन् १९७३ को मार्च ३ कै दिन लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको संरक्षण र अवैध व्यापार रोक्ने पक्षमा अन्तर्राष्ट्रिय घोषणा पत्र जारी भएको थियो ।
साइटिस भनिने यो घोषणापत्र जारी भएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । वन्यजन्तुको संरक्षण र उनीहरुको बासस्थानको सुरक्षाका लागि जोड दिने गरिएको छ ।
दिवसको अवसरमा यस वर्ष ठूलो बिरालो प्रजाति (बाघ, सिंह, चितुवासहितका जनावर) को संरक्षण र उनीहरुमाथि शिकारीबाट आएको खतरा कम गर्ने पक्षमा जोड दिइएको छ । साइटिसमा अहिले विश्वका १८३ देश सदस्य रहेका छन् । जैवीकविविधता संरक्षणको पक्षमा यो विश्वको बलियो संस्था जस्तै बनेको छ ।
व्यक्तिगत प्रयासमा संयुक्त राष्ट्रसंघको जोड
यो वर्ष ठूलो बिरालो प्रजाति : शिकारीको चुनौती भन्ने नाराका साथ दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्टले बाघको संरक्षणका लागि व्यक्तिगत रुपमै सचेतना फैलाउने अभियानमा जुट्न सबैसँग आग्रह गरेका छन् ।
जैवीक विविधता संरक्षणका लागि बाघको भूमिका महत्वपूर्ण रहेकाले उनीको संरक्षण सुनिश्चित हुनु पर्ने उनले बताएका छन् ।
मानव र वन्यजन्तु तथा वनस्पतिबिच जीवनचक्रमा घनिष्ट सम्बन्ध रहेकाले यो सुन्दरतालाई जोगाउने अवसरको रुपमा आफ्नो प्रयास गर्न आग्रह गरिएको छ ।
दीगोविकास लक्ष्यमा पनि वन्यजन्तु संरक्षणलाई एक उद्देश्यका रुपमा राखिएकाले पनि सबैको एकीकृत प्रयास आवश्यक छ ।
पाटेबाघ, चुतुवा, सिंह, हिउँ चितुवा, ध्वाँसे चितुवासहितका जन्तुको संरक्षणले जैवीक विविधता जोगाउनका लागि महत्वपूर्ण हुने देखिन्छ ।
संकटमा छन् वन्यजन्तु
एक सय वर्ष अघिसम्म एक लाख भन्दा धेरै रहेका बाघसहितका बरालो प्रजातिका जनावरको संख्या अहिले विश्वमा ५ हजार वा त्यसको पेरिफेरिमा सीमित भएको छ ।
नेपालमा पाटेबाघ, हिउँ चितुवा, चितुवा र ध्वाँसे चितुवा पाइने गरेको छ । बाघको संख्या पछिल्ला केही वर्षमा बढेको देखिएको छ । तर तीन सय भने नाघ्न सकेको छैन ।
यस्तै चितुवाको यकिन तथ्यांक नै छैन भने हिउँ चितुवा पाँच सयको हाराहारीमा रहेको तथ्यांक छ । तर नेपालमा ध्वाँसे चितुवाका बारेमा भने कुनै अनुसन्धान नै भएको छैन ।
विशेष गरी बासस्थान मासिँदै जानु, चोरी शिकार तथा शिकारको कमीका कारण बिरोलो प्रजातिका जनावर संकटमा परेका छन् । यसै गरी यो प्रजातिको संरक्षण र अवस्थाका बारेमा हुनु पर्ने जति अनुसन्धान नहुँदा पनि समस्या भएको संरक्षणकर्मी राजु आचार्यले बताए ।