संयुक्त राष्ट्रसंघको चिन्ता : सिरियामा युद्ध अपराध

फेरिएन पूर्वी गुटाको अवस्था

हवाई आक्रमणबाट छोरीलाई बचाउने प्रयासमा पूर्वी गुटाका एक पिता । तस्बिर : रोयटर्स

सिरियाको पूर्वी गुटामा भइरहेको संघर्षको क्रममा युद्ध अपराधका धेरै घटना भएको हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगका अधिकारीले राजधानी दमासकससँग जोडिएको क्षेत्र पूर्वी गुटामा मानवता विरोधी अपराध भएको हुन सक्ने बताएका हुन् ।

राष्ट्रसंघीय मानवअधिकार आयोगको बैठकमा प्रमुख जेइद रा’अद अल–हुसेनले पूर्वी गुटासहित सम्पूर्ण सिरियाभर युद्ध अपराध तथा मानवता विरोधी अपराध भएको हुन सक्ने बताएका हुन् ।

युद्धमा संलग्न पक्षलाई आफूहरुले गरेको काम अपराध हो भन्ने थाहा रहेको र त्यो हुँदाहुँदै पनि अपराधलाई निरन्तरता दिएको उनको भनाई छ । उनीहरु सबै आफ्नो कृत्यका लागि जिम्मेवार हुनु पर्ने अल–हुसेनले बैठकमा बताएका छन् ।

पूर्वी गुटामा खाद्यान्नसहितका अत्यवाश्यक सामग्रीको अभाव छ ।

सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ । पूर्वी गुटामा पनि रुसको साथमा सिरियाली सेनाले बिद्रोहीलाई निशाना बनाउन भन्दै आक्रमण सुरु गरेको हो ।

तर निशानामा बिद्रोही भनिए पनि मारमा सर्वसाधारण नागरिक परेका छन् । झण्डै दुई हप्तामा ६७४ जना भन्दा धेरैको ज्यान गएको छ । यसमा एक सय भन्दा बढी बालबालिका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युद्ध विरामको प्रस्ताव गरे पनि त्यो लागु भएको छैन । सिरियालाई साथ दिँदै आएको रुसले अहिले पनि आक्रमणलाई निरन्तरता दिएको छ ।

सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

भोकमा ज्यान जोगाएका उनीहरु हवाई तथा रकेट आक्रमणमा आफूलाई बचाउन असफल छन् । राजधानी दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी गुटामा ३ लाख ९३ हजार मानिस फसेका छन् ।

सरकारी सेनाको आक्रमणमा धेरै बालबालिका चपेटामा परेका छन् । उपचारका लागि स्वास्थ्य संस्थाको पनि अभाव छ ।

अहिले ती नागरिक रुसको सहयोगमा सरकारी सेनाले बम खसाल्न थालेपछि त्रासमा बाँच्न बाध्य छन् । सरकारी सेनाको आक्रमणमा धेरै बालबालिका चपेटामा परेका छन् । उपचारका लागि स्वास्थ्य संस्थाको पनि अभाव छ ।

संयुक्त राष्ट्रसंघले पूर्वी गुटाको अवस्था अति नै दयनिय भएकाले तत्काल सबै पक्षले मानवीयता देखाउनु पर्ने बताएको छ ।

लासको पहाड बन्यो, रगतको खोला

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्टले पूर्वी गुटाले अब पर्खिन नसक्ने भन्दै तत्काल युद्ध रोकेर सहयता सामग्री पठाउन तथा उद्धारको काम गर्नु पर्ने बताउँदै आएका छन् । तर पूर्वी गुटाको अवस्था फेरिएको छैन ।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्