किसुनजीको स्मृतिमा चिकित्सकहरुले दिए जीवन लम्ब्याउने टिप्स

कार्यक्रममा स्नायुरोग र यसको बचाउसम्बन्धी टिप्स दिँदै डा. वसन्त पन्त। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौं- सन्तनेता कृष्णप्रसाद भट्टराईको सातौँ पूण्यतिथिका अवसरमा शनिबार भट्टराई प्रतिष्ठानले विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको छ। ‘स्वस्थ शरीर-आनन्दी मन’ विषयक अन्तरसंवाद कार्यक्रमको सुरुमा शास्त्रीय संगीतका गायक विष्णु आचार्यले रागमा शिव स्तूति र सरस्वती बन्दणा गाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने उनलाई तबलमा शशी थापाले साथ दिएका थिए।

कार्यक्रममा स्नायुरोग विशेषज्ञ डा.वसन्त पन्तले स्नायुको विकासक्रम, यसको महत्‍व र लाग्‍ने रोगबारे बताए। उनले भने, ‘मानिसले मष्तिष्कको प्रयोग थोरै मात्र गरेको देखिन्छ। दाहिने र देब्रे मष्तिष्कसँगको सम्बन्ध दाँत, मुख र मुटुसँग बढी मात्रामा हुन्छ।’

उनले स्नायुबारे जनचेतना नहुँदा धेरै सर्वसाधारणको जीवन अकालमै बित्‍ने भएकाले अब यसबारेमा सचेत हुनु पर्ने बताए। उनले भने, ‘नेपालमा मैले सन् २००० मा उपचारको थालनी गरे। त्‍यसमध्‍ये अहिलेसम्‍म करीब ६५ हजारको उपचार गरिसकेँ जसमा हास्‍यकलाकार मदनकृष्ण श्रेष्ठको पनि उपचार गर्ने मौका पाएँ।’

उनले स्नायुसँग सम्बन्धित शरीरका सबै प्रकारका रोगहरुको अप्रेशन गर्न अब्‍बलसँग मात्र सिक्‍नुपर्ने नत्र दुर्घटना हुनसक्‍ने समेत चेतावनी दिए। समाजमा देखा परेको छारेरोग, पार्किन्सन लगायत काम्‍ने रोगहरु स्नायु समस्याका कारणले हुने हुँदा सही समयमा उपचार गरे निको हुने उनको भनाइ थियो।

यस्तै मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले मानिसको खानपान नै मुटु रोगको प्रमुख कारण भएको जिकिर गरे। उनले भने, ‘प्राय जंक फुड धेरै खाने बानी र सन्तुलित भोजन कम ध्‍यान दिनाले मानिसहरुमा चाँडै मोटोपना बढ्‍ने र सुगर हुने, हृदयाघात हुन्छ।’

यस्तै मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले नेपालमा वर्षेनी १० प्रतिशत मानिसको मृगौला फेल हुने गरेको बताए। उनले भने, ‘मृगौला फेल हुनुमा मुख्‍यकारण वंशाणुगत गुण हो। त्‍यसमा पनि आमाले कम तौल भएको बच्‍चा जन्‍माउनु नै हो।’

मृगौलाबाट बच्‍न सधैँ सन्तुलित आहार खानुपर्ने, तनाव कम लिने र चिकित्सकको सल्लाहमा पानीको मात्रा मिलाएर पिउनुपर्ने बताए।

जाउलाखेलस्थित स्टाफ कलेजमा भएको कार्यक्रमको सहजीकरण दन्तरोग विशेषज्ञ डा. सुशील कोइरालाले गरेका थिए। कार्यक्रम भट्टराई फाउन्डेसनसँगै पुण्यार्जन फाउन्डेसनको आयोजनामा भएको थियो।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्