नयाँ डिक्सनरीको एपसँगै ताली र हाँसोको पर्रा

नेपाली-अंग्रेजी अफलाइन डिक्सनरी शनिबार सार्वजनिक गरिँदै। तस्बिर: देशसञ्चार

काठमाडौँ- नेपाली भाषामा शुद्धाशुद्धि तथा व्याकरणीय त्रुटिमाथिको विवाद नौलो होइन। यो बेलाबेलामा बाहिर आउँछ र एउटा निष्कर्षमा पुगेर टुंगिन्छ। अनि अर्को विवाद सुरु हुन्छ अर्को कुनै बिन्दुबाट।

तर, ललितपुरमा शनिबार भएको एक कार्यक्रममा भने यसको चर्चा गर्ने तरिका फरक थियो। चर्चा भाषामा भएका कमजोरीकै थियो तर साथमा जोडिएको थियो चलचित्रमा प्रयोग गरिने भाषा, ताली र हाँसो अनि हाम्रो पात्रो।

हाम्रो पात्रोको ‘हाम्रो नेपाली–इंग्लिस डिक्स्नरी’ नयाँ एण्ड्रोइड एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रममा केही यस्ता थिए दृश्य।

कार्यक्रममा चलचित्र ‘शत्रु गते’को टिम पनि साथमा थियो। साथमा थिए भाषाविद् चूडामणि गौतम र शरदचन्द्र वस्ती। भाषाविद्को भाषामा भइरहेका त्रुटिहरुको उदाहरण सुन्न लायक थिए भने कलाकारका अनुभव पनि हाँस्न र ताली पिट्न  रोक्न नसकिने खालका थिए।

दर्शक दीर्घामा बसेका हाँस्यकलाकार तथा ‘शत्रु गते’का निर्माता किरण केसीको नाम अन्तिममा जब आसन ग्रहणको लागि उच्चारण भयो, हौसिएर उनी हाम्रो पात्रोको टिसर्ट लगाउन कुद्छन्। र, आएर आसन ग्रहण गर्छन्।

मदनकृष्ण श्रेष्ठलाई आफ्नो अनुभव सुनाउन आग्रह गर्दा उनले भने, ‘म भाषाको विज्ञ त होइन, तर मेरो भाषा ठिकै छ।’

उनले ‘नेवार परिवारबाट आएको कारण ठ्याक्कै शुद्ध नभए पनि शुद्ध नै छ’ भन्दा दर्शकले हाँसो र ताली एकैपटक बजाएका थिए। उनी भन्दै थिए, ‘कला क्षेत्रमा आउन चाहेको कारण गीतबाट भाषामा परिवर्तन ल्याएँ।’

किरण केसीलाई बोल्न आग्रह गर्दा उने सुरुमै नेपालीमा धेरै पटक फेल भएका कारण भाषाका बारेमा कुरा नगर्ने बताउँदा गाडि बसेका दर्शकबीच हाँसोको फोहोरा छुटेको थियो। यद्यपि उनले केही बोलेरै छोडे र अन्तिममा चलचित्र ‘शत्रु गते’ चैत नौ गते रिलिज हुँदैछ भनेर आफ्नै सिनेमाको विज्ञापन गर्न पनि छुटाएनन्।

शरदचन्द्र वस्तीले ‘नभएको भाउँतो’ बनाएर भाषा बिगार्ने काम भइरहेको उल्लेख गरे। उनले भाषा शुद्धतामा भएका गल्तीका केही उदाहरण पनि दिए। चलचित्रमा भाषाको मौलिक उच्चारण बिगारेर प्रयोग गर्न नहुने आशय उनले व्यक्त गरे। कतिपयले लेखाइमा अशुद्ध भए पनि उच्चारण त शुद्ध गरिन्छ भन्छन् तर उच्चारणमा पनि धेरै ठाउँमा गल्ती हुने उनको तर्क थियो।

कलाकार हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठसँगको आफ्नो सुरुदेखिको अनुभव सुनाउँदै भने, ‘२०३८ सालदेखि यता हामीले रंगमञ्चमा मात्रै १०० पेजको ६ वटा किताबलाई पुग्ने लेख्यौँ र मञ्चन गर्‍यौँ।  लेखाइमा शुद्ध नभए पनि बोलीमा भने जहाँसम्म हामी शुद्ध बोल्थ्यौँ। हामीलाई कतैबाट गुनासो आएन कि हामीहरुले गल्ती उच्चारण गरिरहेका छौँ।’

उनले यसो भनिरहँदा दायाँतर्फ बसेका भाषाविद् चूणामणि गौतम ध्यान दिएर सुनिरहेका थिए। ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ उपन्यास लेखेका आचार्य भन्दै थिए, ‘व्याकरण सम्बन्धी किताब अहिले पढ्ने गरेको छु।’

उनले ‘सानोमा चिट धेरै चोरेको हो, कार्वनकपी सहितको चिट चोर्थेँ, १ वटा गार्डले लगेमा अर्को निकाल्थेँ’ भन्दा दर्शकहरु गललल हाँसे।

सबैको कुरा ध्यान दिएर सुनेका भाषाविद् चूणामणि गौतमको जब बोल्ने पालो आयो, उनले भनिहाले, ‘चलचित्रमा शुद्ध उच्चारण गरिँदैन। एउटा टेलिचलचित्रमा एकजनाले अशुद्ध उच्चारण गरेको सुनेर मैले किताबै निकालेँ।’

गौतमले त्यो भनिरहँदा छेउमा बसेका हरिवंश आचार्य र किरण केसी कानेखुसी गर्दै थिए। यद्यपि गौतमले त्यो टेलिचलचित्र, कलाकार र त्यो किताबको बारेमा बताएनन्।

उनका अनुसार नेपाली अक्षर छैन, हामीले प्रयोग गर्ने देवनागरिक लिपी हो। नेपाली भाषा देवनागरिक लिपीमा लेखिन्छ। देवनागरिक लिपीमा पहिले संस्कृत, नेपाली, हिन्दी र मराठी लेखिन्थ्यो र अहिले रञ्जना लिपीमा लेखिने नेवारी अथावा नेपाल भाषामा पनि देवनागरिक लिपीको प्रयोग गरेको पाइन्छ र अन्य भाषामा पनि।

उनले हरेक जातजातिको आफ्नो मौलिक भाषा तथा लिपी हुने उल्लेख गर्दै त्यसलाई नै सुधार गरेर लिनुपर्ने बताए। उनको आसय पनि नेपाली भाषामा धेरै शुद्धाशुद्धिमा कमीकमजोरी छन् भन्ने थियो। यसको उनले केही उदाहरण नै दिए।

हाम्रो पात्रोको ‘हाम्रो नेपाली–इंग्लिस डिक्स्नरी’ एप संयुक्त रुपमा यसमा योगदान दिएका भाषाविद् चूणामणि गौतम र शरदचन्द्र वस्ती तथा ‘शत्रु गते’को टिम महजोडी, किरण केसी र निर्देशक प्रदीप भट्टराईले सार्वजनिक गरेका थिए।

आयोजकका अनुसार यो एप १० लाख पटक भन्दा बढी पटक डाउनलोड भइसक्यो। उनीहरुका अनुसार यो एप २०१६ मा पहिलो पटक सार्वजनिक भएको थियो त्यतिबेला यो १० कक्षा सम्मका विद्यार्थीका लागि उपयोगी थियो। अब यो सबै जनाको लागि उपयोगी हुने हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए। उनका अनुसार ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरु छन् यसमा जुन सम्बन्धित तस्बिरसहित उपलब्ध हुनेछ।

आयोजकले मीठो भाषालाई मेटाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रविधि मार्फत भाषाको ध्यान राख्ने प्रयास जारी रहने जानकारी दिए।

‘तर यी भाषामा आइरहने समस्यालाई विज्ञहरुको बिच राखेर प्रस्टसँग नसच्याए यो विवाद जारी नै रहने निश्चित छ। अन्यथा भाषामा आउने त्रुटिको बारेमा आवाज उठाउनु तुक हुँदैन,’ देवकोटाले भने।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्