तालको बीचमा अचम्मको कविगोष्ठी

काठमाडौँ- राजधानी र मोफसलका मुख्य शहरमा कविता वाचन तथा कवि गोष्ठी त सुनिएकै हो तर मकवानपुर जिल्लाको मार्खुमा कविताको कार्यक्रम काव्य उत्सव भएको छ, त्यो पनि तालको बीचमा। पर्यटनका लागि साहित्य नारा सहित नेपालकै मानव निर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोवरमा इन्द्रसरोवर काव्य उत्सव २०७४ सम्पन्न भएको छ।

फागुन १८ र १९ गते तालको बीचमा डुगांमा कविता सुनाइएको थियो।

देशभरका करिब तीन दर्जन कविको उपस्थिति रहेको कार्यक्रम शुक्रबार साँझ ६ बजे सुरु भएको इन्द्रसरोवरको बीचमा डुगांकै स्टेज बनाए डूंगामै कवि तथा दर्शक डुगांमै राखेर दीप प्रज्वलनसहित गरिएको थियो। कार्यक्रम करिब दुई घण्टा चलेको थियो।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको मुख्य आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले नेपालमा यस्तो प्रकारको कार्यक्रम पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभूति गर्न पाएको बताए। ३२ जना कविले एकएक कविता वाचन गर्दै राति दश बजेसम्म इन्द्रसरोवर गुञ्जायमान पारे।

दोस्रो दिन किनारमा कविता श्रृंखलामा तीन दर्जन कविले कविता सुनाएका थिए।

कवि टोलीकी सबैभन्दा जेठी कवि उषा शेरचनले यस्तो भब्य र सिर्जनशील उत्सवमा उपस्थिति जनाउन पाएकोमा अत्यन्तै सौभाग्यशाली भएको बताइन्।

चितवनका कवि भूपिनले तालमै दीप प्रज्वलनसहित यसरी कविता वाचन गरेको आफ्नो पहिलो अनुभूति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले कविलाई अझै सिर्जनशील बनाउने बताए।

चार चरणमा गरिएको कार्यक्रममा विद्यालय स्तरको कविता प्रतियोगितामा उत्कृष्ट चार स्थानीय कवि शुशिला वाइवा, अनिता लामा, मिरुता कार्कीले चार हजार रुपैयाँसहित सम्मान पत्र पाएका थिए।

इन्द्रसरोवर गाउँपालिका मकवानपुर र सर्वनाम थिएटर काठमाण्डौको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो। कार्यक्रम सोचेभन्दा सफल भएको कार्यक्रममा संयोजक राज शाहले बताए।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्