नेइमार बिना पिएसजी संघर्षपूर्ण जित

चोटका कारण स्टार स्ट्राइकर नेइमार बिहीन भएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो जितको यात्रा भने कायमै राखेको छ ।

फ्रेन्च लिग वान लिडर पिएसजीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा ट्रोयससँग संघर्षपूर्ण जित निकाल्दै १४ अंकको अग्रता कायम गरेको छ ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि पिएसजीले दोस्रो हाफमा दुई गोल गरेर जित निकालेको हो । पिएसजीका लागि ४७ औँ मिनेटमा एन्जल डी मारियाले पहिलो गोल गरे ।

यस्तै ७७ औँ मिनेटमा क्रिष्टोफर एनकुकुले गोल गरेपछि पिएसजी २–० ले विजयी भयो । पिएसजी चोटग्रस्त नेइमार र केलियन एमबाप्पे बिना नै खेलेको थियो ।

लिग लिडर पिएसजीले अब बाँकी १० खेलमा १७ अंक जोडेमा उपाधि जित्ने पक्का हुनेछ । उसको २८ खेलबाट ७४ अंक भएको छ । यो सिजन उपाधि जितेमा पिएसजीको पछिल्ला पाँच सिजनमा चौथो उपाधि हुनेछ ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्