नेपालको टाउको दुखाउन सक्ने जिम्बावेका यी खेलाडी

काठमाडौं-आइतबार घरेलु टोली जिम्बावेसँग खेल्दै नेपालले आईसिसी एकदिवशिय विश्वकप, २०१९ को छनोट यात्रा सुरु गर्दै छ।

१० औं पटक एकदिवशिय विश्वकप खेल्ने योजनामा रहेको जिम्बावे नेपालका लागि निकै कठिन प्रतिद्धन्द्धी हो। जिम्बावेमा लामो समयदेखि खेलिरहेका अनुभवी र प्रतिभावान खेलाडीको वर्चस्व छ।

विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलर जिम्बावेका ठुला हतियार हुन्। ३२ वर्षीय टेलरले हालसम्म एक सय ७६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले यी खेलमा नौ सतक र ३३ अर्धसतक बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको व्‍यक्तिगत उच्च पाली अविजित एक सय ४५ रनको छ। सन् २००४ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै उनले  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

जिम्बावेका कप्तान ग्रेम क्रेमर अनुभवी बलर हुन्। उनले एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा ९० खेल खेल्दै एक सय नौ विकेट लिएका छन्। ३१ वर्षिय यी लेगब्रेक गुगली बलरले सन् २००९ मा एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।ग्रेम क्रेमर

जिम्बावेका सिकन्दर राजा, हेमिल्टन मासाकाद्जा, क्रेइग एर्भिन , सिन विलियम्स र बाय्रन भिट्टोरीले पनि नेपाललाई अप्ठेरोमा पार्न सक्छन्। ३४ वर्षीय मासाकाद्जाले एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ८७ खेल खेल्दै पाँच सतक र ३२ अर्धसतक बनाएका छन्।

उनले एकै खेलमा अविजित एक सय ७८ रन बनाएका थिए। यो स्वरुपको क्रिकेटमा उनले ३८ विकेट पनि लिएका छन्। उनले सन् २००१ मा सिनियर टोलीमा डेब्यु गरेका थिए।

राजा अलराउन्डर हुन्। उनले सन् २०१३ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेयता ७९ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा तीन सतक र ११ अर्धसतक बनाएका छन्। सन् २०१० मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका एर्भिनले ७४ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा दुई सतक र ११ अर्धसतक बनाएका छन्।

अर्का अलराउन्डर विलियम्सले एक सय ११ खेलमा एक सतक र २६ अर्धसतक बनाएका छन् भने ५२ विकेट पनि लिएका छन्। २८ वर्षिय भिट्टोरी मिडियम फास्ट बलर हुन्। उनले हालसम्म खेलेका २३ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा ३० विकेट लिएका छन्।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्