सनमले समातेपछि निर्जीव फूलमा प्राण भरियो

सनम पुरी गीत गाउँदै गर्दा गुलाफको फूल दिँदै उनका फ्‍यान। तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौं – हरेकमा प्राण भर्ने बल हुन्छ त केवल प्रेममा। आफ्नोपनले बाँचेका र मायाले भरिएका हरेक वस्तु चाहे निर्जीव नै किन नहुन्, ती सजीव भइदिन्छन् मायामा।

सनम पुरी गीत गाउँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

सायद त्यो कृत्रिम (प्लाष्टिकको) फूल थियो। तर भिडमा हराउँदै अनि देखिँदै। पेलिँदै, ठेलिँदै अघि बढेर आफ्नो भर्च्यूअल दुनियाँको प्रेमको नजिक पुगेकी प्रशंसकले सनमलाई टक्र्याउँदा फूलमा प्राण भरियो । सनममा मुस्कान फूल्यो, सायद फूल दिनेको मन बगैँचा बन्यो ।

त्यस्तै मुश्किल तर सजिलो मानेर अगाडि पुग्यो अर्को जोडी। हातमा थियो डायरी र कलम । सपना, सनमको अटोग्राफ । सनम माथि मञ्चमा, जोडी सामुन्ने दर्शकदीर्घामा ।

अटोग्राफको प्रतिक्षा । तस्बिर : बर्षा शाह/देश सञ्चार

फूल देखेका सनमले हुन सक्छ आफ्नो हस्ताक्षर पर्खिएको कापी र कमल देखेनन्। भिडमा आलो पालो गर्दै जोडीले कापी कलम माथि उचाली रहे, पर्खिरहे । सनमले गीत गाइरहे ।

यो दृश्य हो, ललितपुरको जावलाखेल मैदानमा शनिबार दिन ढलेर रात पर्दै गर्दाको ।

नेपालमा पहिलो पटक कन्सर्ट गर्न आएको युट्युब मार्फत भारतीय प्रायद्विपमा आफ्नो अग्लो स्थान र त्यो भन्दा अग्लो फ्यानको उचाइ कमाएको सनम ब्याण्ड ।

बलिवुडका नयाँ तथा पुराना गीत अनि आफ्ना ओरिजिनल गीत मार्फत भारत र नेपालसहित भारतीय प्रायद्विपमा सनमको आकार फराकिलो छ ।

चार दाजुभाइ, लाखौँ प्रेमी मन

चार युवाको समूह । पेशा संगीत । बलियो पक्ष, बान्की मिलाएर गाउने गीत, झुमेर बजाउने बाजा अनि त्यो भन्दा ठूलो चारबिचको कनेक्सन।

सदस्य दुई दाजुभाइ सनम र समर पुरी अनि दुईमा चार भने हुने केशव धनराज र वेंकी एस ( वेंकट सुब्रमन्याम) ।

ड्रम्समा केशव धनराज । तस्बिर : बर्षा शाह/देश सञ्चार

गीत गाउने चार सदस्यमा सायद सबैभन्दा कान्छा, सनम पुरी । लिड गिटारमा उनका दाइ समर पुरी, बेस गिटारमा वेन्की अनि ड्रम्समा केशव धनराज ।

सनमले नेपाली फ्यानलाई सनम नै बनाए

सनम ब्याण्डले शनिबार बेलुका ललितपुर जावलाखेलको मैदानमा प्रस्तुति दिँदा नेपाली फ्यानको अनुहारमा प्रेम थियो । स्नेह थियो । अनि थियो, आश नजिकै पुग्ने । भिडियोमा नियालेको आँखाको चमकलाई नजिकबाट हेर्ने । अनुहारमा फूल्ने मुस्कानमा समाहित हुने ।

सनम मेन्नुदेखि परेलीमा लुकाइ राख्नसम्म

ढल्दै गरेको दिन । वयस्क हुँदै गरेको साँझमा सनम मञ्चमा आए । हात हल्लाए अभिवादन गरे । केही बोलेनन्, गाउन सुरु गरिहाले नयाँ गीत, सनम मेन्नु ।

सनमसँगै दर्शक सनम बने । अनि बने सनम दर्शकजस्तै । प्रेमले बाँधिए । मायाले स्वतन्त्र भए । एकपछि अर्को गर्दै गीत गाए । बिचमा बोले सनम पुरी, बेला बेलामा आफ्नो ट्रेड मार्क जस्तै बनेको मुस्कान फूलाएका सनमले आभार व्यक्त गरे ।

भने, ‘मायाले हामी भव्य भएका छौँ । यो स्नेह अनि साथका लागि धेरै धन्यबाद ।’ त्यसपछि थाले फेरि गाउन । बिचमा सनम पुरी, उनको बायाँ समर गिटारको तारमा औँल्या खेलाउँदै । घरीघरी उनी अघि आउँथे, आफ्नो औँलाको कला, जिउनै नचाउने धुनले बाँध्थे ।

दायाँ वेंकी बेस गिटारमा रमाउँदै । पछाडि थिए, केशव ड्रममा । साथमा अरु कलाकार । सबै मग्न । दर्शक उनीहरुलाई हेरेर केही आतुर, केही सपना अनि धेरै उत्साह लिएर मैदानमा ।

बेस गिटारमा वेंकी एस । तस्बिर : बर्षा शाह/देश सञ्चार

हिन्दी र पञ्जाबी गीत गाएका सनमले अन्त्य तिर गाए, लगजा गले से फिर कभी मुलाकात हो ना हो । त्यसपछि सुनियो नेपाली आवाज, सनमको स्वरमा । सनमले दियो नेपाली गीतको स्वाद । परेलीमा लुकाइ राखन गाएर नेपाली फ्यानलाई आँखामा बसाए ।

झण्डै सवा घण्टा मञ्चमा रहेका समनले अन्तिम गाए, मेरे सपनो की रानी कब आओगी तुम… ।

सपनामा आफूलाई देख्ने धेरै रानी (राजाहरु पनि) लाई सपना देखाए अनि बिदा भए ‘सनम’ ।

लिड गिटारमा समर पुरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

बलिवुड अभिनेता सलमान खान सुरक्षा खतरा रहेको भन्दै नेपाल आउने कार्यक्रम रद्द भएका बेला सनम ब्याण्डले भने नेपाल आएर प्रस्तुति दिएर गएको हो ।

कला र संगीत अनि यो क्षेत्रका मन पर्ने कलाकारलाई भेट्ने फ्यानको रहरलाई सीमामा बाँध्न सकिँदैन भन्ने यो बलियो प्रमाण हो ।

स्मरणीय छ,

फ्याब फोरको रुपमा पनि चिनिने सनम ब्याण्ड मुम्बईको पप रक ब्याण्ड हो, जसको जन्म सन् २०१० मा भएको हो । झण्डै ८ वर्षको अवधिमा सनमको चर्चा यहाँ पुगेको छ कि युट्युब च्यानलमा ३५ लाख भन्दा बढी सब्सक्राएबर्स पाएको छ ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्