जिम्बावेको २२ ओभरमा १५० रन पुरा, विकेट खोज्दै नेपाली बलर

काठमाडौं- आईसिसी एकदिवशिय  विश्वकप छनोट अन्तर्गत  आफ्नो पहिलो खेलमा नेपाल अहिले जिम्बावेसँग भिडिरहेको छ।

टस जितेपछि ब्याटिङ गरेको जिम्बावेले २२ ओभरमा ३ विकेट गुमाएर एक सय  ५१ रन जोडेको छ। स्पीनरद्धय बसन्त रेग्मीले दुई र सन्दिप लामिछानेले एक विकेट लिए। जिम्बावेका ओपनरद्धय सेपास झुअाव ४१ र सोलोमन मायर ५२ रनमा अाउट भए।

झुआवले  २३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे।  मायरले  ४१ बलमा ३ छक्का र ५ चौका प्रहार गरे।

जिम्बावेले ७७ रन जोड्दा  पहिलो विकेट गुमायो। सन्दिपले आफ्नाे पहिलो ओभरको पहिलो बलमै विकेट हात पारेका हुन्।  जिम्बावले दोस्राे विकेट एक सय ८ रन जोड्दा गुमायो। बसन्त रेग्मीले हेमिल्टन मासाकाद्जालाई १७ रनमा आउट गरे।

जिम्बावेले १५ औं ओभरको तेस्राे बलमा तेस्राे विकेट गुमायो। बसन्तले मायरलाई  कट एन्ड बोल्ड  गरे। जिम्बावेले सुरुको आठ ओभरमा ७७ रन जोडेको थियो। सन्दीपले आठौं ओभर   विकेटसहित मेडन फ्याँकेका थिए।

ब्रेन्डन टेलर २०  र क्रेग एर्भिन  १७ रनमा खेल्दैछन्।

नेपालले समूह ‘बी’को खेलमा जिम्बावेसँग खेल्दै यात्रा सुरु गर्न लागेको हो। १० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई अर्थात फाइनलमा पुग्ने टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन् । प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट टोली सहभागी छन्। एसोसिएटमध्ये नेदरल्यान्ड्ससहित शीर्ष चार टोलीले चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

समूहगत चरणमा नेपालले आयोजक जिम्बाबेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।

समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्