अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले सेयरबजारमा ठूलो गिरावट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ४२ अंकको पहिरो गएको छ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४२ अंकले घटेर १३०४ अंकमा पुगेको छ।
घटेको बजारमा कारोबार भएका एक सय ५१ कम्पनी मध्ये सुर्योदय लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त संस्था बाहेकको मूल्य ओरालो लागेको छ।
सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीको सूचीमा हिमालयन डिस्टिलरी रह्यो। हिमालयनको मूल्य १० प्रतिशतले ओरालो लागेको हो।
अर्थमन्त्री खतिवडाले गत सोमबार एक अन्तर्वार्तामा सेयर बजार उत्पादनमूलक क्षेत्र नभएको बताएका थिए। 
खतिवडा अर्थमन्त्री भए पछि नेप्से परिसूचक ६० अंकले घटिसकेको छ।
ब्रोकरहरुले खतिवडाको भनाई पछि लगानीकर्ताको मनोबल घटेको बताएका छन्। एक ब्रोकरले भने मन्त्री नै सेयर बजारमा जाने कर्जा प्रति सकारात्मक नभए पछि सेयर कर्जाको ब्याजदर बढ्ने प्रेसरले पनि बजार ओरालो लागेको हो।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले अर्थमन्त्रीको भनाइपछि लगानीकर्ता निराश भएको बताए।
उनले भने, ‘अर्थमन्त्रीको भनाइले पुँजीबजार सरकारको प्राथमिकतामा नपर्ने जस्तो देखिएकाले बजार घटेको हो।’
सेयर बजारका जानकार अनल राज भट्टराई पनि घटिरहेको बजारलाई अर्थमन्त्रीको भनाइले घटाएको बताउँछ्न्।
उनले भने, ‘बिमा, हाइड्रोपावर र माइक्रोफाइनान्स त ओभर प्राइज नै थियो तर अर्थमन्त्रीले उत्पादनमुलक र अनुत्पादकमुलक लगानी भनेर भन्दा समग्र बजार घटेको हो।’ उनि बढ्दो ब्याजदरले बजार ओरालो लागेको बताउँछन्। 
 
आइतबार दोहोरो अंकले घटेको बजारमा दिनभरमा एक सय ५१ कम्पनीको ४८करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
परिसूचक ओरालो लाग्दा बजार पुँजीकरणमा पनि गिरावट आएको छ।  आइतबारको गिरावट पछि बजार पुँजी करण १५ खर्बमा पुगेको छ।
साताको पहिलो कारोबार दिन  घटेको बजारमा नेपाल लाईफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। नेपाल लाईफको ३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिद भएको हो।
आइतबार समग्र बजार घट्दा सम्पूर्ण उपसुचकहरु ओरालो लागेका छन्। सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ७ प्रतिशतले ओरालो लाग्यो।
फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्