प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुकुम र जाजरकोट विजयी

सुर्खेत–कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ।

आइतबार भएको खेलमा दैलेखलाई ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै रुकुमले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस जितेर दैलेखले पहिले फिल्डिङ रोजेपछि मैदानमा आएको रुकुमले निर्धारित २० ओभरमा १ सय ६२ रन जोड्यो।

उसका लागि खुसीराम विकले ७४ र दिनेश पुनले ६५ रनको अविजित पारी खेले।

एक सय ६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिमा उत्रिएको दैलेख ९ दशमलव ५ ओभरमा ६३ रनमै समेटियो।

त्यसैगरी आइतवार नै भएको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४ विकेटले पराजित गरेको छ। टस जितेर जाजरकोटले फिल्डिङ गर्ने निर्णय गरेपछि जुम्लाले पहिला ब्याटिङ गरेको थियो। जुम्लाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै एक सय २९ रन जोड्न सफल भयो।

एक सय ३० रनको लक्ष्य जाजरकोटले १७ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। जाजरकोटका सन्दिप शाहीले अविजित ५८ रन बनाएका थिए। शनिबारदेखि सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता छ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्