
युद्धग्रस्त सिरियाको पूर्वी गुटाबाट सर्वसाधारण नागरिक जोखिम लिएरै त्यहाँबाट बाहिर निस्कन थालेको छन् । पूर्वी गुटाको अवस्था थप नाजुक बन्दै गएपछि सर्वसाधारण नागरिक सुरक्षित स्थानको खोजीमा त्यहाँबाट निस्कन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा गएको फेब्रुअरी १८ देखि रुसको साथ पाएको सरकारी सेनाले कारवाही अभियान तीव्र पारेको छ । यसले गर्दा राजधानी दमासकससँग जोडिएको क्षेत्र पूर्वी गुटाको मानवीय अवस्था निकै नाजुक बनेको छ ।

अहिलेसम्म सरकारी सेनाले पूर्वी गुटाको २५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिन सफल भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
दुई हप्तादेखि हवाई आक्रमण हुँदै आएको पूर्वी गुटामा शनिबारदेखि सरकारी सेनाले स्थल आक्रमणलाई तीव्रता दिएको छ ।
बिद्रोहीले पनि त्यसको प्रतिकार गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । पूर्वी गुटामा अहिले ३ लाख ९३ हजार नागरिक फसेका छन् ।
सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ । पूर्वी गुटामा पनि रुसको साथमा सिरियाली सेनाले बिद्रोहीलाई निशाना बनाउन भन्दै आक्रमण सुरु गरेको हो ।
तर निशानामा बिद्रोही भनिए पनि मारमा सर्वसाधारण नागरिक परेका छन् । झण्डै दुई हप्तामा झण्डै सातजनाको ज्यान गएको छ । यसमा एक सय ५० भन्दा बढी बालबालिका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युद्ध विरामको प्रस्ताव गरे पनि त्यो लागु भएको छैन । सिरियालाई साथ दिँदै आएको रुसले अहिले पनि आक्रमणलाई निरन्तरता दिएको छ ।
सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् । भोकमा ज्यान जोगाएका उनीहरु हवाई तथा रकेट आक्रमणमा आफूलाई बचाउन असफल छन् ।
अहिले ती नागरिक रुसको सहयोगमा सरकारी सेनाले बम खसाल्न थालेपछि त्रासमा बाँच्न बाध्य छन् । सरकारी सेनाको आक्रमणमा धेरै बालबालिका चपेटामा परेका छन् । उपचारका लागि स्वास्थ्य संस्थाको पनि अभाव छ ।
संयुक्त राष्ट्रसंघले पूर्वी गुटाको अवस्था अति नै दयनिय भएकाले तत्काल सबै पक्षले मानवीयता देखाउनु पर्ने बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्टले पूर्वी गुटाले अब पर्खिन नसक्ने भन्दै तत्काल युद्ध रोकेर सहयता सामग्री पठाउन तथा उद्धारको काम गर्नु पर्ने बताउँदै आएका छन् । तर पूर्वी गुटाको अवस्था फेरिएको छैन ।
आइतबार संयुक्त राष्ट्रसंघको सहायता दल पूर्वी गुटामा प्रवेश गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन । अहिले त्यहाँका नागरिक बाहिर निस्कन थालेपछि उनीको ज्यानमा थप खतरा उत्पन्न भएको छ ।
सरकारी सेना र बिद्रोहीले सर्वसाधारण नागरिकलाई एकीकृत सजाय दिएको भन्दै यो कुनै पनि हालतमा स्वीकार्य नहुने संयुक्त राष्ट्रसंघले बताएको छ ।
सहायता सामग्री बोकेका ४० वटा ट्रक गुटाको डोउमामा लैजानका लागि आफूहरुले स्वीकृति मागे पनि सिरियाली अधिकारीले नदिएको भन्दै राष्ट्रसंघले आलोचना गरेको छ ।