लमही नगरपालिकालाई राष्ट्रिय तरकारी उत्पादन ‘हव’ बनाउने योजना

दाङ – दूरीको हिसाबले प्रदेश नम्बर ५ को मध्यविन्दुमा लमही नगरपालीका पर्छ । यो नगरको ९ वटै वडाबाट राजमार्ग हिँडेको छ । २४ घण्टा यातायातको पहुँचमा नगर बासिन्दा छन् । तर नगरको आफ्नै पहिचान बनाउन अझै सकिएको छैन ।

दोस्रो नगरसभामा भने केही महत्वकांक्षी योजना अघि सारेर नगर बासिन्दाको ध्यान खिच्ने काम भएको छ । नगरप्रमुख कुलबहादुर केसीले महत्वकांक्षी योजना सार्वजनिक गरे । पहीलो नगरसभामा यी महत्वकांक्षी योजना भने सार्वजनिक गरिएको थिएन ।

लमही नगर निर्माण अभियानको नाम दिएर अर्जुनखोलामा उच्च बाँध निर्माण गरी १५ वर्षदेखि अधुरो नारायणपुर सिंचाई प्रणालीलाई नगरपालिकाको वडा नम्बर ९ अमेलीयासम्म विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ ।

लमही नगरलाई राष्ट्रिय तरकारी उत्पादन केन्द्रको हवको रुपमा स्थापीत गर्न पूर्व पश्चिम राजमार्ग, लमही कोईलाबास अन्तर्राष्ट्रिय सडक, लमही नगरपालिका ३ मा निर्माणाधिन कोल्ड स्टोर, नगरपालीका भित्रका किसानलाई आधार मानेर बाह्रै महिना राष्ट्रिय तरकारी उत्पादन केन्द्रको रुपमा विकास र स्थापित गर्ने आधार मानिएको छ ।

राप्ती नदीलाई दोहोरो तटवन्ध गरी अर्धकदको बाँध निर्माण तथा राप्ती करिडोरको विकास गर्ने योजना समेटिएको छ । हरित सडक निर्माण,  र्‍याफ्टिङ्ग, बोटीङ, नदी किनारमा रिभर ब्रान्चको अवधारणाको विकास गर्दै निजी क्षेत्रको लगानीमा व्यावसायीक रिसोर्ट निर्माणगरी आन्तरिक र बाह्य पर्यटक आकर्षण गरी अन्तर्राष्ट्रिय पहिचान स्थापीत गर्ने, ५ वर्षपछि देउखुरीलाई महानगरपालिकाको रुपमा विकास गर्ने, बाँके राष्ट्रिय निकुञ्जलाई विस्तार गरी बाँके दाङ राष्ट्रिय निकुञ्ज स्थापित गर्ने योजना छ ।

थारु संस्कृतिको पहिचान र संरक्षणका लागि होम स्टे सञ्चालन गर्ने योजना राखिएको नगरप्रमुख केसीले बताए ।

साउन १ बाट एकीकृत सम्पत्ति कर

लमही नगरपालिकाको दोस्रो नगरसभाले आगामी साउन १ गतेबाट एकीकृत सम्पत्ति कर लागु गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।

चालु आर्थिक वर्षको आन्तरिक आय १ करोड ५० लाख बाट बढाई ३ करोड ४ लाख ५० हजार पु¥याउने निर्णय गरेको छ । अनुमानित आन्तरिक आयलाई थप पूर्वाधार आयोजनामा विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्