सेयर बजार घट्ने क्रम रोकिएन; दुई दिनमै गुम्यो ६७ अर्ब रुपैयाँ

काठमाडौं- साताको पहिलो कारोबार दिन ४२ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि १७ अंकले ओरालो लागेको छ।
लगानीकर्ताले अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्तिले नै सेयर बजार घटेको आरोप लगाएका छन्।
साताको दोश्रो कारोबार दिन आधा घण्टा भित्र १५ अंकले बढेर १३१८ अंकमा पुगेको नेप्से परिसूचक एकघण्टामा पुनः घटेर २६ अंकले घटेर १२९२ अंकमा पुगेको थियो।
साढेदुई घण्टा बजार ५ अंकले मात्र परिसूचकओरालो लाग्दा बजार धेरै घट्न पाएन।
धेरै लगानीकर्ताले अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजार ओरालो लागेको भनिरहँदा सेयर बजारका जानकारहरु भने ब्याजदर वृद्धि भएकाले बजार ओरालो लागेको बाताएका छन्।
स्टक ब्रोकरहरुले बजार घट्नुको प्रमुख कारण ब्याजदर नै भए पनि सहायक कारण अर्थमन्त्रीको भनाई रहेको बताएका छन्।
ओरालो लागेको बजारमा दिन भरमा १ सय ५३ कम्पनीको ३९ करोड ५२ लाख रुपैयाँ सेयर खरिद विक्री भएको छ।
दोहोरो अंकले घटेको बजारमा ट्रेडिङ र होटल उपसुचक उकालो लागेको छ। सबैभन्दा धेरै घट्ने उपसूचकमा हाइड्रोपावर रह्यो। हाइड्रोपावर उपसूचक २.८३ प्रतिशतले ओरालो लागेको हो।
नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरणमा पनि गिरावट आएको छ। आइतबार ४७ अर्बले घटेको बजार पुँजीकरण सोमबार २० अर्बले घटेको छ। सोमबारको गिरावट पछि बजार पुँजीकरण १५ खर्ब ७ अर्ब रुपैयाँमा पुगेको छ।