टीकापुरमा खुकुरी हान्ने दुई युवक काठमाडौबाट पक्राउ
धनगढी- कैलालीको टीकापुरका करन थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ।
हत्यामा संलग्न रहेका टीकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई काठमाडौको बालाजुबाट पक्राउ गरीएको कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए।
होलीमा खुकुरी हानेर टीकापुरमा एकको हत्या
उनले दुबै जनालाई कैलाली ल्याएर थप अनुसन्धान गरिने बताए। हत्या भएकै दिनदेखि दुवै जना फरार रहेको प्रहरीले जनाएको छ।
गत बिहीवार राती होलीमा देउडा खेल्ने क्रममा २१ बर्षिय थापाको खुकुरी प्रहार गरी निर्मम हत्या गरिएको थियो। घटनापछि टीकापुर तनावग्रस्त बनेको थियो।
हत्यारा पक्राउ गर्न माग गर्दै टीकापुरमा प्रदर्शन उग्र हुदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
मृतकका आफन्तले हत्यारा पक्राउ गर्न माग गर्दै टीकापुरका मेयर तपेन्द्र रावलको घर घेराउ समेत गरेका थिए।