थ्रीस्टारले लियो सशस्त्रसँग चितवनको हारको बदला

थ्रीस्टारका स्ट्राइकर मार्टिन (निलो जर्सीमा) बल लिएर अगाडि बढ्दै। तस्बिर- उमाकान्त खनाल/देश सञ्‍चार

विर्तामोड- काठमाडौंको थ्री स्टार क्लबले शसस्त्र प्रहरीको एपीएफसँग तीन दिन अघि चितवनमा भएको गोल्डकपमा ब्यहोरेको हारको बदला लिएको छ।

बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा एपीएफलाई १−० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले बदला लिएको हो। चितवनमा सम्पन्न बिकास रनिङ शिल्डको फाइनल खेलमा एपीएफले थ्री स्टारलाई १−० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो।

थ्री स्टारको जितका लागि बिदेशी खेलाडी अजय मार्टिन नायक बने।उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए। एपीएफका गोलकिपर अमृत कुमार चौधरी लडेको समयमा भलि गर्दै गोललाई पोष्टको जाली चुमाए। सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए।

पहिलो हाफको पाँचौं मिनेटमा थ्री स्टारका सुनील बलको कढा प्रहार एपीएफका गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फ्याँकेका थिए। ९औं मिनेटमा मार्टिनले पाएको अवसर फ्रेममा पर्न सकेन। २४ औं मिनेटमा हरि कार्कीले गरेको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गोललाइनबाट बचाए। ४१ औं मिनेटमा थ्री स्टारका स्ट्राइकर बुद्ध चेम्जोङको कढा प्रहार गोल हुन सकेन।

५८ औं मिनेटमा मार्टिनको प्रहार गोलकिपर चौधरीले पञ्च गरेर फर्काए। खेलको ६४ औं मिनेटमा मार्टिनको कढा प्रहार एपीएफका पोष्ट बार र गोलकिपर चौधरीलाई टच हुदै बाहिरियो। ७४ औ मिनेटमा एपीएफका रमेश दंगालको हेडर पोष्ट नजिकैबाट बाहिरियो।

७५ औं मिनेटमा कप्तान निराजन खड्काले एकल प्रयासमा गरेको प्रहारले जाली नचुम्दा गोल अन्तर बढाउने अवसरबाट थ्री स्टार बञ्चित भएको थियो। खेलको ७८ औं मिनेटमा मार्टिनको शसक्त प्रहार एपीएफका गोलकिपर चौधरीले फर्काइदिए।

८५ औ मिनेटमा एपीएफका रोशन लामाले डि एरियाबाट गरेको कढा प्रहार बाहिरिएको थियो। खेलको इन्ज्युरी समयमा एपीएफका सुदिप शिखाकारले गरेको हेड बाहिरिएपछि थ्री स्टारले एपिएफसँग बिकास रनिङ शिल्डमा ब्यहोरोको हारको बदला लिएको थियो।

खेलको म्यान अफ द म्याच थ्री स्टारका अजय मार्टिन घाषित भए। उनले नगद २५ हजार रुपैंया पुरस्कार प्राप्त गरे। मंगलबारको खेल मनाङ मस्र्याङदी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजक समितिले जनाएको छ।

खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपीएपका प्रशिक्षक रतनकाजी महर्जनले निरन्तर खेल खेल्नु परेका कारण खेलाडीले आराम नपाउँदा पराजय व्यहोर्नु परेको बताए। दुई दिनअघि मात्र चितवनमा खेलेर झापा आएको बताउँदै उनले मैदानका बारेमा जानकारी नभएकाले पनि खेल्न सहज नभएको बताए।

त्यस्तै, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचेअनुसारको परिणाम निस्कन नसकेको बताए। उनले खेल ६०−४० को अवस्थामा हुँदा समेत एउटामात्र गोल हुन सकेको बताए। एकमात्र गोल हुँदा प्रतिस्पर्धा जस्तो देखिएको उनको भनाइ थियो।

उनले काठमाडौँ बाहिर भएको प्रतियोगितामध्ये झापा गोल्डकप सबै पक्षमा उत्कृष्ट रहेको प्रतिक्रियासमेत दिएका छन्। गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्