भाजपाले जितेको त्रिपुरामा भड्कियो हिंसा, घर बने खरानी

भारतको पूर्वोत्तर राज्य त्रिपुरामा विधानसभा चुनावको नतिजापछि हिंसा भड्किएको छ । यसअघि चुनावी हिंसा त्रिपुरामा हुने गरेको थिएन । यस्तै त्रिपुरा मात्रै एउटा यस्तो राज्य हो, जहाँ चरमपन्थी अभियान पनि शान्तीपूर्ण रुपमा समाप्त भएको थियो ।

तर आइतबार विधानसभा चुनावको नतिजा आएसँगै त्यहाँ हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदेशका विभिन्न क्षेत्रमा चुनाव जितेको भारतीय जनता पार्टी (बिजेपी) र पराजित भएको वामपन्थी पार्टी सिपिएमका कार्यकर्ताबिच झडप भएका छन् ।

त्रिपुरामाविशेषगरी प्रदेशको राजधानी अगरतला नजिक बंगलादेशसको सीमासँग जोडिएको क्षेत्रमा हिंसाले चरम रुप लिएको छ । पश्चिम त्रिपुरा प्रशासनले हिंसा नियन्त्रणका लागि सिआरपिसीको धारा १४४ अनुसार निषेधाज्ञा जारी गरेको छ । विभिन्न १३ क्षेत्रमा निषेधाज्ञा लागु गरिएको र यो दुई दिनसम्मका लागि रहेको स्थानीय प्रशासनले जनाएको छ ।

चुनावी नतिजापछि भाजपाका कार्यकर्ताले आफूहरुको पार्टी कार्यालयमा मात्रै नभएर नेता तथा कार्यकर्ताका घरमा पनि आक्रमण गरेको वामपन्थी कार्यकर्ताले आरोप लगाएका छन् ।

अगरतलाबाट यसपटक पराजित भएका सिपिएमका पूर्व विधायक झुमु सरकारले आफूमाथि दिनहुँ आक्रमणको धम्की आउने गरेको बताएका छन् । आफ्ना लागि मिलेको सुरक्षा पनि हटाइएको उनको आरोप छ ।

त्रिपुरामाझुमुको घरबाट नजिकै लंगा पाडामा रहेको सिपिएम समर्थकको पसलमा पनि आगजनी भएको छ । सिपिएमका नेता तथा कार्यकर्ताका घरमा हतियारसहित आएका व्यक्तिले आक्रमण गरेको आरोप छ ।

तर भाजपाका प्रतिनिधिले भने आक्रमणमा आफूहरुको संलग्नता नरहेको बताएका छन् । सिपिएमले आफूहरुलाई बदनाम गर्न चाहेको उनीहरुको आरोप छ ।

त्रिपुरामा भाजपा गठबन्धनले ४० तथा सिपिएमले मात्रै २० सिट जितेको छ । त्रिपुरामा २५ वर्षदेखि वामपन्थीको शासन थियो । अब भाजपाले सरकार बनाउँदैछ ।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्