रियल मड्रिड भर्सेस पिएसजी

अप्ठ्यारोमा पिएसजी, सजिलोमा रियल

प्रशिक्षणमा रियल मड्रिडका खेलाडी । तस्बिर : एएफपी र गेट्टी इमेज

काठमाडौं – घरेलु लिगमा अप्ठ्यारोमा परे पनि क्षेत्रीय प्रतिस्पर्धामा बलियो अवस्थामै छ रियल मड्रिड । लगातार दुई सिजन युरोपियन च्याम्पियन बनेको जिनेदिन जिदानको टिम यो वर्ष पनि च्याम्पियन्स लिगको उपाधि उचाल्दै अर्को कीर्तिमानको रेखा खिच्ने तयारीमा छ ।

त्यसका परीक्षा मंगलबार राति पेरिसमा हुँदैछ । तर यो परीक्षामा रियल मड्रिड केही सजिलो अवस्थामा छ । अन्तिम १६ को दोस्रो लेगमा लिग वान लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीसँग उसकै मैदानमा भेट्दा रियल बलियो आत्मबलका साथ उत्रने देखिन्छ, किनकी पहिलो लेगमा उसले ३–१ को जित निकालेको छ।

तयारीमा पिएसजीका खेलाडी । तस्बिर : गेट्टी इमेज

तर पिएसजी भने केही असजिलोमा छ । पहिलो त, अवे मैदानमा पहिलो लेग गुमायो । त्यो भन्दा भयानक स्टार स्ट्राइकर नेइमारलाई चोटका कारण गुमाउनु ।

घरेलु लिगमा लगभग उपाधि नजिक रहेको पिएसजी च्याम्पियन्स लिगमा भने कमजोर देखिएको छ । रियल भने ला लिगामा तेस्रो स्थानमा छ, साबिक विजेता रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ ।

कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ ।

पहिलो लेग खेल्नु अघि घरेलु लिगमा उसको प्रदर्शन र पिएसजी जस्तो प्रतिस्पर्धीका कारण रियल समस्या रहेको देखियो । तर उसले पहिलो लेगमा जित निकालेर कीर्तिमानी उपाधि यात्राको आशलाई जीवित मात्रै राखेको छैन थप बलियो बनाएको छ ।

डर भन्दा सम्भावना बढी

पेरिसमा मंगलबार राति रियलले खेल्दा उसमा डर त हुनेछ तर त्यो भन्दा बढी सम्भावना । त्यसको तुलनामा पिएसजीलाई भने नतिजा उल्ट्उने चुनौती छ ।

मार्सेलो र राेनाल्डो खेलका लागि तयारी गर्दै । तस्बिर : एएफपी र गेट्टी इमेज

ला लिगामा लगातार राम्रो प्रदर्शन गर्न नसकेको रियल मड्रिडले च्याम्पियन्स लिगमा पिएसजीसँग भेट अघिको घरेलु प्रतिस्पर्धामा भने उत्कृष्ट प्रदर्शन गरेर सकारात्म संकेत गरेको छ ।

ला लिगामा राम्रो प्रदर्शन गर्न संघर्षरत स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पनि यो खेलमा उत्कृष्ट प्रदर्शन गरे र आफू लयमा फर्किएको संकेत दिएका छन् ।

रोनाल्डोको दुई गोलमा गेटाफेलाई रियल मड्रिडले तीन दिनअघि भएको खेलमा ३–१ ले हरायो । यस्तै नेइमार बिनाको पिएसजीले पनि ट्रोयसलाई २–० ले त हराएको छ तर डर भने उसमा कायम छ ।

विगत

च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा अवे मैदानमा भएको पहिलो लेगमा ३–१ ले पराजित भएका ३३ प्रतिशत टिमले मात्रै नतिजा उल्ट्याउँदै अघिल्लो चरणमा स्थान बनाएका छन् ।

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा अन्तिम १६ का पछिल्ला सात खेलमा जित निकालेको छ ।

पिएसजीले नकआउट चरणमा यसअघि दुई पटकमात्रै रियल मड्रिडलाई हराएको छ । त्यो पनि सन् १९९२–९३ र १९९३–९४ को सिजनमा । रियल मड्रिड पिएसजीसँग पछिल्ला तीन खेलमा अपराजित छ, दुई खेलमा जित र एकमा बराबरी ।

रियलको मैदानमा भएको पहिलो लेगमा गोल गरेपछि साथी खेलाडीसँग एड्रियन राबितो । तस्बिर : गेट्टी इमेज

घरेलु मैदानमा भएका खेलमा भने पिएसजीको इतिहास राम्रो छ । युरोपियन प्रतिस्पर्धामा पिएसजीले अहिलेसम्म घरेलु मैदानमा खेलेका ४६ खेलमा मात्रै एउटामा मात्रै हार बेहोरेको छ । ३० खेलमा विजयी भएको पिएसजी १५ खेलमा बराबरीमा रोकिएको छ । पिएसजी हारेको भने सन् २०१५ को अप्रिलमा बार्सिलोनासँग ३–१ ले हो ।

च्याम्पियन्स लिग, रियल मड्रिड र प्रशिक्षक जिदानलाई जोडेर हेर्दा स्पेनिस क्लब निकै बलियो देखिन्छ । जिदानको प्रशिक्षणमा च्याम्पियन्स लिगका १५ नकआउट खेलमा रियल ११ खेलमा विजयी भएको छ ।

प्रशिक्षण गर्दै करिम बेन्जिमा । रियलका बेन्जिमाले च्याम्पियन्स लिगमा १०० औँ खेल खेल्दै छन् । तस्बिर : एएफपी/गेट्टी इमेज

दुई खेलमा बराबरी भएको छ भने दुईमा पराजित पनि । तर त्यो भन्दा बलियो इतिहास रियल मड्रिड पछिल्ला सात सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

तर पिएसजी भने पछिल्ला पाँच सिजनमा क्वाटरफाइनल भन्दा अघि जान सकेको छैन । उसले पछिल्लो पटक सन् १९९४–९५ को सिजनमा सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसमा एसी मिलानसँग पराजित भयो ।

रोनाल्डोको लय

सधैँ जस्तै यो सिजन पनि च्याम्पियन्स लिगमा रोनाल्डोको लयमा कुनै शंका छैन । उनले यो सिजन घरेलु लिगमा भने अघिल्ला सिजन जस्तो लय समात्न सकेका थिएनन् ।

तर उनले तीन दिनअघि भएको खेलमा दुई गोल मात्रै गरेनन्, सबै भन्दा छिटो ला लिगा गोलमा ट्रिपल सेन्चुरी (३०१ गोल) गर्ने कीर्तिमान पनि बनाए ।

पेरिसमा तयारीको क्रममा रोनाल्डो । तस्बिर : एएफपी/गेट्टी इमेज

उनी यो सिजन समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बने । उनले समूह चरणका ६ खेलमा ९ गोल गरेका छन् । अन्तिम १६ को पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा ११ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगमा अहिलेसम्म ११६ गोल गरेका रोनाल्डो सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा पहिलो स्थानमा छन् । यो सिजन अन्तिम १६ को पहिलो लेगमा दुई गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा एउटै क्लबबाट १०० गोल गर्ने पहिलो खेलाडी पनि बने ।

उनले रियलबाट च्याम्पियन्स लिगमा १०१ गोल गरेका छन् । यो खेलमा रियलका करिम बेन्जिमाले प्रतिस्पर्धामा आफ्नो १०० औँ उपस्थिति जनाउँदै छन् ।

नेइमारको ठाउँमा डी मारिया

प्रशिक्षणमा टिमका खेलाडीसँगै पिएसजीका एन्जल डी मारिया । तस्बिर : एएफपी/गेट्टी इमेज

चोटका कारण मैदान बाहिर रहेका नेइमारको ठाउँमा पिएसजीले एन्जल डी मारियालाई राख्दैछ । रियल मड्रिडका पूर्व खेलाडी डी मारियाले एडिसन काभानीसँगै पिएसजीको सम्भावनाको भारी बोक्दैछन् ।

हेड–टु–हेड

पहिलो लेग खेलका नेइमार दोस्रो लेगमा मैदानमा हुने छैनन् । तस्बिर : गेट्टी इमेज

रियल मड्रिड र पिएसजी यसअघि ७ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा रियल मड्रिडले तीन तथा पिएसजीले दुई खेल जितेको छ । दुई खेलमा बराबरी भएको छ ।

तर गोलका आधारमा रियल मड्रिड अघि गएको छ । पिएसजीले ७ खेलमा ८ गोल गरेको छ भने रियल मड्रिडले ९ ।

नोट : च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग आफ्नै मैदानमा मंगलबार राति नै प्रतिस्पर्धा गर्दैछ । अवे मैदानमा भएको पहिलो लेगमा ५–० ले विजयी भएको लिभरपुल बलियो अवस्थामा छ ।

युइएफए डट कम र बिबिसीको सहयोगमा

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्