इरफान खानलाई ‘दुर्लभ’ रोग, भने–चिन्ता नलिनु

बलिवुड तथा हलिवुड चलचित्रका अभिनेता इरफान खानलाई निकै कमैलाई मात्र देखिने रोग लागेको छ । इरफानले आफू दुर्लभ मानिएको रोगको शिकार बनेको बताएका हुन् ।
उनले आफ्ना समर्थक तथा फ्यानलाई आफ्नो अवस्थाका बारेमा चिन्ता नगर्न आग्रह पनि गरेका छन् । अहिले आफ्नो अवस्थाका बारेमा परीक्षण भइरहेको र उपचारका बारेमा जानकारी आफै अपडेट गर्दै जाने उनले उल्लेख गरेका छन् ।
उनले ट्वीटरमार्फत आफ्नो बिमारीका बारेमा बताएका हुन् । ५१ वर्षका खानले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । बलिवुडमा उनका पिकु, मक्बुल, हाँसिल, पान सिंह तोमरसहितका उत्कृष्ट चलचित्र छन् ।
— Irrfan (@irrfank) March 5, 2018
यस्तै उनले लाइफ अफ पाइ, सलमडक मिलेनियर्स, द अमेजिङ स्पाइडर–म्यानसहितका हलिवुड चलचित्रमा पनि अभिनय गरेका छन् ।
उनी अन्तर्राष्ट्रिय स्तरमा राम्रो परिचय बनाएका भारतीय कलाकार हुन् । उनले बलिवुडसहित स्वतन्त्र हिन्दी चलचित्रमा पनि अभिनय गरेका छन् ।
उनले आफूलाई दुर्लभ किसिमको रोग लागेको बताए पनि के रोग लागेको भन्ने चाहिँ खुलाएका छैनन् । उनले सन् २०१३ मा पान सिंह तोमरमा गरेको उत्कृष्ट अभिनयका लागि राष्ट्रिय चलचित्र अवार्ड जितेका थिए ।