फेसबुकमा ब्लक गरेको भन्दै किशोरको हत्या, परिवारले २५ दिनपछि फेला पार्‍यो

सांकेतिक तस्बिर ।

काठमाडौं– फागुुन ११ गते एक महिला १६ वर्षको छोरा हराएको भन्दै बालाजु प्रहरी वृत्तमा खोजतलासका लागि निवेदन दिन पुगिन्।
गोगंबुकी राधा सुचिकारको निवेदनमा उल्लेख थियो, फागुन १ गतेदेखि छोरा हराइरहेको छ, खोजी पाउँ।

राधाले दुई वर्षअघि खिचिएको छोराको तस्विर पनि निवेदनमा संलग्न गरेकी थिइन्। प्रहरीमा आउने यस्ता खोजतलासका निवेदनले तत्कालै ‘रेस्पन्स’ पाउँदैनन् । धेरै त परिवार वा आफन्तलाई दुख दिने नियतले पनि आफै बेखबर भएर बसिरहेका हुन्छन्।

त्यसमा पनि किशोर उमेरको भएकाले कतै गएर बसेको छ कि भन्ने आशंका प्रहरीको थियो। तर राधा सोमबार फेरी बालाजु वृत पुगिन्, छोरो नभेटिएको गुनासो र दुख ब्यक्त गर्दै। परिवारको अवस्था देखेर प्रहरी ‘सिरियस’ भए।

बालाजु प्रहरीले माघ २७ गते तारकेश्वर नगरपालिका ४ मा नालामा निर्घात कुटपिट गरी फालिरहेको अवस्थामा एक किशोरलाई फेला पारी ट्रमा सेन्टर पुर्‍याएको थियो।

तर टाउकोमा अत्यधिक रगत जमेका कारण ती किशोरको अप्रेसन सफल हुन सकेन र माघ २९ गते निधन भयो।

पोस्टमार्टमका क्रममा रड, इट्टा लगायतले उनको शरीरमा प्रहार गरेको देखियो। तर प्रहरीले ती किशोरको नाम पहिचान गर्न सकेन। विभिन्न ठाउँमा लगेर तस्विर देखाए पनि सबैले नचिनेको जवाफ दिए। वेवारिसे शव टिचिङमा थन्किएर बस्यो।

सोमबार बालाजु वृतका अनुसन्धान अधिकृत जनार्दन घिमिरेले राधालाई छोरा हराएको मिति यकिन गर्न लगाए। ‘फागुन १ गतेदेखि हराएको भनेपछि सुरुमा त्यो वेवारिसे शवतिर हाम्रो ध्यान नै गएन। राधाले दिएको तस्विर पनि दुई वर्ष अगाडिको भएका कारण चिन्न गाह्रो थियो’, प्रहरी निरीक्षक घिमिरेले भने। राधाले सम्झिने प्रयास गर्दै छोरा शुक्रबार हराएको अड्कल गरिन्।

प्रहरीले बार जुधाउँदा अनुसन्धान त्यही वेवारिसे शवतिर मोडियो किनभने राधाका छोरा कुमार सुचिकार हराएको भोलिपल्ट नालामा ती किशोरको शव भेट्टाएको थियो। प्रहरीले घटनाबारे विस्तृत बताएपछि आफन्त झसंग भए। प्रहरीले ती किशोरको शव टिचिङमा रहेको बताएपछि आफन्तले कुमार हराएको २५ दिनपछि उनको मृत शरिर टिचिङमा भेटेका छन्।

कुमारको हत्या आरोपमा नौ जना पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा फेसबुकमा भएको विवादका क्रममा कुमारको हत्या भएको खुलेको छ। फेसबुक ग्रुपमा छिरेर आफुहरुलाई ब्लक गरेको आक्रोशमा कुमारको हत्या गरिएको पक्राउ परेकाले प्रारम्भिक बयानमा भनेका छन्।

पक्राउ पर्ने अधिकांश गुहेश्वरीका छन्। कुमार र उनीहरुबीच फेसबुकमा मात्र चिनचान भएको बताइएको छ। गंगबुको गणेश हिमाल बोर्डिङमा कक्षा १० मा अध्ययनरत थिए कुमार। प्रहरी निरिक्षक घिमिरेले अनुसन्धान जारी रहेकाले थप कुरा खुल्न सक्ने बताए।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्