४५ लाख नेपाली नोटसहित एक भारतीय पक्राउ

नेपाली नोट ४५ लाख रुपैँयासहित एक भारतीय नागरिक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

मोरङ-जिल्ला प्रहरी कार्यालय मोरङले नेपाली ४५ लाख रुपैयासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी कार्यालय मोरङले मंगलबार घटनाबारे जानकारी दिदैं भारतको विहारस्थित अररिया फारविसगञ्ज निवासी नारायण शाहलाई पक्राउ गरिएको हो।

पत्रकार सम्मेलनका क्रममा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले मङगलबार विहान पक्राउ गरिएका शाहको साथबाट ४५ लाख रुपैया बरामद गरेको बताए। शाहलाई भारतीय गाडी बी.आर. ११ एए ६२६५ नम्बरको सेतो रङको गाडीसहित विराटनगर १५ बाट पक्राउ गरिएको हो।

सोक्रममा प्रहरी प्रमुख बीसीले शाहमाथि प्रहरी अनुसन्धान सुरु भइरहेको जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा उपरीक्षक बीसीले उक्त रकम हुण्डी कारोबारीको हुन सक्ने बताएका थिए।

प्रहरीका अनुसार, शाहको साथबाट नेपाली एक हजार दरको नोट ३४ सय थान, ५ सय दरको नोट २१ सय थान र १ सय रुपैयाको नोट ५ सय थान रहेको छ।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्