‘युवराज खतिवडा आउँदा राजस्व संकलन बढेको छैन’

काठमाडौं- नयाँ सरकारको गठन र अर्थमन्त्रीको जिम्मा डा. युवराज खतिवडाले लिएको एक सातामा राजस्व संकलनमा कुनै अस्वाभाविक र अपेक्षित बढोत्तरी देखिएको छैन।

केही सञ्चारमाध्यममा अर्थमन्त्री खतिवडाको निर्देशनपछि एकै दिन नियमितभन्दा ३५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको समाचार सार्वजनिक भएको थियो।

मन्त्रीको निर्देशनपछि राजस्व सङ्कलन बढेको भन्ने समाचार सत्य नभएको भन्सार विभागले जनाएको छ। विभाग उच्च स्रोतका अनुसार मन्त्रीको निर्देशनपछि मात्र १ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको भन्ने समाचार सत्य होइन।

विभागको तथ्यांक अनुसार फागुन ८ गते पनि १ अर्ब १ करोड रुपैयाँ भन्सार उठेको देखिन्छ।

चालुआर्थिक वर्षको लक्ष्य पूरा गर्न पनि दिनमा १ अर्ब रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन हुनु पर्ने भन्सार विभागका कर्मचारी बताउँछन्। चालुआर्थिक वर्षमा सरकारले भन्सारबाट ३ खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ।

फागुन २१ गते सम्म सरकारले लक्ष्य भन्दा ८ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ।

फागुन २१ गते सम्म १ खर्ब ९६ अर्ब रुपैयाँ लक्ष्य भएकोमा १ खर्ब ८४ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

फागुन १२ गते ४५ करोड रुपैयाँ राजस्व उठ्दा अर्थमन्त्रीमा खतिवडा नियुक्त भएका दिन फागुन १४ गते ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

अर्थमन्त्रीले भन्सार अधिकृतलाई दिएको निर्देशन पछि १५ गते १ अर्ब २२ करोड रुपैयाँ राजस्व उठ्दा १६ गते १ अर्ब ७ करोड रुपैयाँ र १७ गते ५५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

धेरै कर लाग्ने सामान जस्तो गाडीहरु आयात हुँदा एकै दिन धेरै राजस्व उठ्ने र कम कर लाग्ने सामान आयात हुँदा कम राजस्व उठ्ने भन्सार विभागका कर्मचारी बताउँछन्। एक कर्मचारीले भने, ‘मन्त्रीको निर्देशनले एकै दिन धेरै राजस्व उठ्यो भन्ने कुरामा कुनै सत्यता छैन।’

फागुन १७ गते पहाडमा होलीका दिन ५५ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको थियो। फागुन १८ गते तराइको होली र फागुन १९ गते शनिबारका बिदा परेकाले दुई दिनमा करिब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस्तै फागुन २० गते ७८ करोड रुपैयाँ राजस्व सङ्कलन हुँदा फागुन २१ गते १ अर्ब ४ करोड रुपैयाँ सङ्कलन भएको थियो।

अर्थमन्त्री खतिवडाको निर्देशन पछि भन्सारमा कडाइ गरेको भन्सार विभागका कर्मचारी स्वीकार गर्छन।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्