रियल मड्रिड भर्सेस पिएसजी

रियल मड्रिडको नयाँ यात्रा सुरु, पिएसजी स्तब्ध

रोनाल्डोले रियलबाट पछिल्ला ९ खेलमा १५ गोल गरेका छन् ।

युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च लिग वान फुटबल लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीलाई उसकै मैदानमा २–१ ले हराउँदै समग्रमा ५–२ को जितसहित स्पेनिस क्लब रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा जिनेदिन जिदानको टिम रियल ३–१ ले विजयी भएको थियो । दोस्रो लेगमा रियललाई जिताउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र कास्मेइरोले गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरे ।

नेइमार बिनाको पिएसजीले पहिलो हाफमा भ्रमण टोली रियललाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा रोक्न सकेन । ५१ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए ।

६६ औँ मिनेटमा वेर्राट्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । तर त्यसको पाँच मिनेटपछि काभानीले पिएसजीका लागि बराबरी गोल फर्काए ।

८० औँ मिनेटमा कास्मेइरोले गोल गरेपछि रियल दोस्रो लेगमा पनि विजयी हुँदै सहज रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भयो । घरेलु मैदानमा भएको पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगमा एक गोल गरे ।

घरेलु लिगमा अप्ठ्यारोमा परे पनि क्षेत्रीय प्रतिस्पर्धामा बलियो अवस्थामै छ रियल मड्रिड । लगातार दुई सिजन युरोपियन च्याम्पियन बनेको जिनेदिन जिदानको टिम यो वर्ष पनि च्याम्पियन्स लिगको उपाधि उचाल्दै अर्को कीर्तिमानको रेखा खिच्ने तयारीको अर्को चरणमा पुगेको छ ।

मंगलबार राति पेरिसमा भएको त्यसको परीक्षा उ सहज रुपमा पास भयो । घरेलु लिगमा लगभग उपाधि नजिक रहेको पिएसजी च्याम्पियन्स लिगमा भने कमजोर देखियो । रियल भने ला लिगामा तेस्रो स्थानमा छ, साबिक विजेता रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ ।

कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ ।

विगत

च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा अवे मैदानमा भएको पहिलो लेगमा ३–१ ले पराजित भएका ३३ प्रतिशत टिमले मात्रै नतिजा उल्ट्याउँदै अघिल्लो चरणमा स्थान बनाएका छन् । पिएसजीले पनि नतिजा उल्ट्याउन सकेन ।

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा अन्तिम १६ का पछिल्ला ८ खेलमा जित निकालेको छ । पिएसजीले नकआउट चरणमा यसअघि दुई पटकमात्रै रियल मड्रिडलाई हराएको छ ।

त्यो पनि सन् १९९२–९३ र १९९३–९४ को सिजनमा । रियल मड्रिड पिएसजीसँग पछिल्ला चार खेलमा अपराजित छ, तीन खेलमा जित र एकमा बराबरी ।

घरेलु मैदानमा भएका खेलमा भने पिएसजीको इतिहास राम्रो छ । तर यसपटक त्यो इतिहास दोहोरिन पाएन । युरोपियन प्रतिस्पर्धामा पिएसजीले अहिलेसम्म घरेलु मैदानमा खेलेका ४७ खेलमा मंगलबार रातिको सँगै दुई खेलमा हारेको छ ।

३० खेलमा विजयी भएको पिएसजी १५ खेलमा बराबरीमा रोकिएको छ । पिएसजी हारेको भने सन् २०१५ को अप्रिलमा बार्सिलोनासँग ३–१ र अहिले रियल मड्रिडसँग २–१ ले हो ।

जिदानको प्रशिक्षणमा च्याम्पियन्स लिगका १६ नकआउट खेलमा रियल १२ खेलमा विजयी भएको छ । दुई खेलमा बराबरी भएको छ भने दुईमा पराजित पनि । तर त्यो भन्दा बलियो इतिहास रियल मड्रिड पछिल्ला सात सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

तर पिएसजी भने पछिल्ला पाँच सिजनमा क्वाटरफाइनल भन्दा अघि जान सकेको छैन । उसले पछिल्लो पटक सन् १९९४–९५ को सिजनमा सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसमा एसी मिलानसँग पराजित भयो ।

रोनाल्डोको लय

सधैँ जस्तै यो सिजन पनि च्याम्पियन्स लिगमा रोनाल्डोको लयमा कुनै शंका छैन । उनले यो सिजन घरेलु लिगमा भने अघिल्ला सिजन जस्तो लय समात्न सकेका थिएनन् ।

तर उनले पछिल्ला खेलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले रियलबाट सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा १५ गोल गरेका छन् ।

उनी यो सिजन समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बने । उनले समूह चरणका ६ खेलमा ९ गोल गरेका छन् । अन्तिम १६ को पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा १२ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगमा अहिलेसम्म ११७ गोल गरेका रोनाल्डो सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा पहिलो स्थानमा छन् । यो सिजन अन्तिम १६ को पहिलो लेगमा दुई गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा एउटै क्लबबाट १०० गोल गर्ने पहिलो खेलाडी पनि बने । उनले रियलबाट च्याम्पियन्स लिगमा १०२ गोल गरेका छन् ।

हेड–टु–हेड

रियल मड्रिड र पिएसजी ८ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा रियल मड्रिडले चार तथा पिएसजीले दुई खेल जितेको छ । दुई खेलमा बराबरी भएको छ । गोलका आधारमा रियल मड्रिड अघि गएको छ । पिएसजीले ८ खेलमा ९ गोल गरेको छ भने रियल मड्रिडले ११ ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्