ग्राउण्ड रिपोर्ट

‘लेनिन, स्टालिन सबै जानु पर्छ’

भारतको पूर्वोत्तर राज्य त्रिपुराको बेलोनिया क्षेत्रमा ढालिएको लेनिनकाे प्रतिमा .

त्रिपुरा – ‘लेनिन, स्टालिन सबै जानु पर्छ । लेनिन, स्टालिन, मार्क्स सबै हट्नु पर्छ । प्रतिमा ध्वस्त अनि उनीहरुका नाममा रहेको सडक पनि सकिन्छन् ।’

भारतको पूर्वोत्तर राज्य त्रिपुराको बेलोनिया क्षेत्रबाट निर्वाचित भएका भारतीय जनता पार्टीका विधायक अरुण चन्द्र भौमिकको भनाई हो यो ।
उनको भनाई छ, विद्यालयका पुस्तकमा उनीहरुका बारेमा लेखिएका कुरा पनि हटाइने छ किनकी यो भारतीय सँस्कृतिको अंश होइन ।

कुनै बेला लेनिनग्रेडको रुपमा परिचय बनाएको त्रिपुराको दक्षिणी क्षेत्र अहिले लेनिन–शून्य बनेको छ । कम्युनिष्टको गढ मानिँदै आएको उत्तरी पूर्वी भारतमा रहेका लेनिनका प्रतिमा एक पछि अर्को गर्दै ढालिएका छन् ।

सुनसान सडक, डराएका अनुहार

विधानसभा चुनावमा भारतीय जनता पार्टी भाजापाको गठबन्धनले जितेपछि त्रिपुराको अवस्था फेरिँदै गएको छ, हिंसा भड्किएको छ ।

दुई दशक भन्दा लामो समयदेखि सत्तामा रहेर अहिले हारको नमिठो स्वाद लिएका कम्यिुष्टिपार्टीले भाजपासहितका दक्षिणपन्थीले आफ्ना कार्यालय तथा नेता–कार्यकर्तालाई निशाना बनाएको आरोप लगाएका छन् ।

त्रिपुराको बेलोनियाको कलेज स्क्वायरमा रहेको लेनिनको प्रतिमा ढालियो । यहि क्षेत्रबाट वामपन्थी नेता बसुदेव मजुमदार चारपटक विधायक बनेका थिए । यसपटक भने भाजपाका अरुण चन्द्र भौमिकसँग मात्रै ७५३ भोटले पराजित भए ।

आइतबार बिहान भौमिकको जितको खुशीयाली मनाउनका निस्किएको भिडले लेनिनको प्रतिमामा बुलडोजर चलाए ।

हिंसात्मक घटना बढ्दै गएपछि मंगलबार बेलोनिया जिल्ला प्रशासनले सबै राजनीतिक दलको बैठक बोलायो, शान्ती कायम गर्ने प्रयासमा । यस्तै धारा १४४ अनुसार निषेधाज्ञा पनि लागु भयो ।

सिपिआइएमको कार्यालय ।

त्यसपछि सडक सुनसान छन् । बजार तथा पसल बन्दछ । मानिस बाहिर निस्कन भन्दा घरमै बस्दा आफू सुरक्षित रहने आशमा छन् । तर उनीहरुका अनुहार डराएका देखिन्छन् । कलेज एक युवतीले चलाएको पसलमात्रै खुलेको थियो ।

क्यामरा देखेपछि ती युवतीले अत्तालिँदै भनिन्, ‘म त्यहाँ थिइन । मेरो परिवारका पनि कोही थिएनन् । हामीले केही देखेका छैनौँ ।’

जुन ठाउँमा यो घटनाभयो त्यसको नजिकै प्रहरीको ब्यारेक तथा स्थानीय एसपी र डिएमको कार्यालय छ । यति हुँदाहुँदै पनि भिडले आफ्नो उन्माद नरोकिएको एक प्रत्यक्षदर्शीले बताए ।

त्यसको केही पर रहेको सिपिआइएम पार्टीको कार्यालयमा ताला लगाइएको छ । यहाँ केही मानिस थिए, जो मोटरसाइकलमा चढेका छन् । उनीहरुले मसँग सोधपुछ गरे । मैले पनि उनीहरुसँग घटनाका बारेमा बुझ्न खोज्दा आफूहरुलाई केही थाहा नभएको भन्दै पन्छिए ।

उनीहरु त्यहाँबाट गएपछि नजिकै पसल चलाउने व्यक्तिले उनीहरुमध्ये केही घटना भएका बेला त्यहाँ रहेको बताए । लेनिनको प्रतिमा ढाल्ने काममा उनीहरु पनि सामेल थिए ।

वामपन्थीले बदनाम गरे : भाजपा

भाजपाको स्थानीय कार्यालयमा भिडभाड थियो । कार्यालयका व्यवस्थापक शांतनु दत्ताले लेनिनको प्रतिमा भाजपाका कार्यकर्ताले नढालेको बताए । त्यसमा कुनै पनि भाजपा कार्यकर्ताका हात नरहेको उनले दाबी गरे ।

सिपिआइएमका कार्यकर्ताले नै भाजपाको टि–सर्ट लगाएर लेनिनको प्रतिमा ढालेर भाजपाको बदनाम गरेको उनले आरोप लगाए ।

भाजपा कार्यालय ।

पिआईएमका दीपांकर सेनका अनुसार प्रतिमा जनताको पैसाबाट बनाइएको थियो । स्थानीय नगरपालिकाले बनाएको प्रतिमा भिडले ढालेपछि कम्युनिष्ट नेतादेखि कार्यकर्ता सबै डरमा रहेको उनले बताए ।

यता भाजपाबाट विजयी अरुण चन्द्र भौमिकले भने अब भारतीय महानायकहरुको प्रतिमा बनाउने बताए । अंग्रेजसँग लडेका वीरहरुको प्रतिमा बनाइने उनको भनाई छ ।

हिंसाको सुरुवात गभर्नर तथागत रायले गरेको ट्वीटपछि भएको कम्युनिष्ट नेताको आरोप छ । गभर्नर रायले ट्वीटमा लेखेका थिए, ‘लोकतान्त्रिक तरिकाले चुनिएको सरकारले गरेका काम लोकतान्त्रिक तरिकाबाटै चुनिएको सरकारले नष्ट गर्न सक्छ ।’

(बिबिसी हिन्दीका त्रिपुरा संवाददाता सलमान रावीले बिबिसी हिन्दीका लागि लेखेको रिपोर्टको अनुवाद)

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्