जगतगुरुद्वारा गाई बचाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

धनगढी – नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवार्चायले प्रदेश ७ मा रहेका छाडा चौपायको व्यवस्थापनका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

लामो समयदेखि प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपुर जिल्लामा गाईगोरुको अवस्था विकराल रहेकोले उनीहरुको उचित स्याहारका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बुधबार बिहानै कञ्चनपुरबाट आएका जगतगुरुले मुख्यमन्त्रीले अहिलेको आवासका रुपमा प्रयोग गरिरहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्र धनगढीमै पुगेर ध्यानाकर्षण गराएका हुन् ।

जगतगुरुसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाका मेयर पनि ध्यानाकर्षण पत्र बुझाउन आएका थिए ।

ध्यानाकर्षण पत्र बुझाउँदै जगतगुरुले तत्काल घरमा रहेका गाई गोरुको संकेत चिन्ह राख्न लगाउने तथा व्यवस्थापनका लागि छाडा छोडिएका सबै गाईगोरु एकत्रित गरी आहारा व्यवस्थापन गर्न माग गरेका छन् ।

जगतगुरुको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले स्थानीय तहसँगको समन्यवमा छाडा चौपाय व्यवस्थापनको काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाए ।

जगतगुरुले छाडा चौपाय व्यवस्थापन नभएसम्म अन्न ग्रहण नगर्ने भन्दै एक महिना यता फलाहारा मात्रै गरिरहका छन् ।

के के छन जगद्गुरुले मुख्यमन्त्री समक्ष गरेका माग

१) हाल घरमा पालिएका गौमाताहरुलाई संकेत चिन्ह सम्बन्धीत निकायबाट प्रदान गर्न लगाई गाई छोड्ने कार्यलाई निरुत्साहित गराउने,
२) हाल बेवारिसे छोडिएका गाईहरुलाई पुनर्स्थापित गर्न नगरपालिका गाउपालिकाहरुलाई प्रात्साहीत पार्ने
३) गाई पुनस्थापित गर्न सहयोग गर्ने किसानहरुलाई पुरस्कारको व्यवस्था गर्ने
४) सहकारीको माध्यमबाट गाई पुनस्थापित गरी गाईको दुध गोवर गहुत जस्ता उत्पादनलाई सरकारले खरिद गर्ने व्यवस्था मिलाउने
५) किसानहरुलाई गाईको मलको उपयोगिताको शिक्षा दिक्षाको आवश्यक व्यवस्था मिलाउने
६) सरकारकोतर्फबाट सामुदायिक वन तथा सार्वजनिक जग्गामा गौशाला तथा गौचरनको व्यवस्थापन गर्ने तर्फ आवश्यक पहल गर्ने
७) गौमाताको आध्यात्मिक तथा धार्मिक महत्वको बारे शिक्षा दिने
८) गाई बेवारीसे छोड्नेलाई दण्डित गर्न कडा कानुनको व्यवस्था गर्ने
र ९) गोबर ग्यास प्लान्टमा गाईको गोबर उत्तम हुने र स्वास्थ्यको लागि पनि हितकर हुने भएकोले जनचेतनामूलक सन्देश सम्प्रेषण गर्न सम्बन्धित निकायलाई प्रोत्साहित गर्ने ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्