नेपालमा थाईको बसाइ अवधि बढाउनु हाम्रो चुनौती: राजदूत अधिकारी

थाइल्यान्डका लागि नेपालका राजदूत खगनाथ अधिकारी। तस्बिर: देशसञ्चार

थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीसँग बैँककमा नेपाली कामदारको अवस्था, नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धलगायत विषयमा जमुना वर्षा शर्माले गरेको कुराकानी:

थाइल्याण्ड र नेपालबीच कूटनीतिक सम्बन्ध कसरी अघि बढ्दै छ ?

विज्ञापन

सन् १९५९ नोभेम्बर ३० मा दुई देश बीचको दौत्य सम्बन्ध स्थापित भएको हो। जुन उद्देश्यले नेपाल-थाइल्याण्ड सम्बन्ध जोडियो सोही अनुरुप निरन्तर कुटनीतिक सम्बन्ध विस्तार हुँदै अगाडि बढेको छ।

नेपालमा गएको भूकम्पमा उसले गरेको निःस्वार्थ सहयोग कहिल्यै बिर्सन सकिँदैन। नेपालीप्रति थाइ नागरिकको निकै सौहार्द्रता र हार्दिकता छ। बौद्ध धर्मप्रतिको थाइ जनताको उच्च सम्मान छ। नेपालमा ९० प्रतिशत हिन्दु छन् भने ९० प्रतिशत बुद्धिष्ट थाइल्याण्डमा छन्। धार्मिक र सांस्कृतिक पक्षसँग पनि हामी निकै नजिक छौँ। शिव, गणेश, विष्णु भगवान पनि थाई धर्म र आस्थासँग जोडिएका छन्। यसले पनि दुई देश बिचको सम्बन्ध प्रगाढ बनाएको छ। दुरीका हिसाबले पनि त्यति टाढा छैनौँ हामी। दुई देशबीचको सम्बन्ध जति नजिक छ, त्यसरी नै आर्थिक सम्बन्धलाई पनि मजबुत बनाउन सोही अनुरुप लागिपरेको छ।

छोटै समयमा धेरै आर्थिक विकास गर्न सफल थाइल्याण्डमा नेपाली कत्ति छन् ?
थाइल्याण्ड मध्यम आम्दानी गर्ने देश हो। केही वर्षभित्रमै उच्च आम्दानी गर्ने देशको रुपमा स्थापित गर्ने योजनासाथ यिनीहरु लगिपरेका छन्। अहिले औद्योगिक क्रान्ति मार्फत चौथो स्टेजमा पर्दापण गरेका छन्। रोबोटिजको एजमा प्रवेश गरेका छन्। पर्यटनले यहाँको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। २०१७ मा थाइल्याण्डमा ३ करोड ५० लाख पर्यटक आएको तथ्यांक छ। कृषिमा पनि उत्तिकै राम्रो छ। संसारमा धान निर्यात गर्ने प्रमुख देश हो यो। अन्य क्षेत्रमा पनि उत्तिकै मेहनत देखिन्छ। पर्यटन, उत्पादन, खाद्यान्न, सामुन्द्रिक उत्पादनले यहाँको अर्थतन्त्र बलियो बनाउँदै लगेको छ। यहाँ ९९ प्रतिशत नागरिक रोजगारमा छन्।

साढे ६ करोड जनसंख्या भएको थाइल्याण्डमा दुई प्रकारका नेपाली छन्। नेपाली मूलका विदेशी झण्डै ७५ हजार जति छन्। झण्डै २ हजार जति हाम्रो मुलुक नेपालका छन्। एक हजार जति एआइटीलगायत विविध विषयमा अध्ययनरत छन् भने बाँकी १ हजाार विभिन्न क्षेत्रमा काम गर्ने छन्।

दुई देशबीच श्रम सम्झौता भएको छैन, नेपालीले कसरी काम गरिरहेका छन् त ?
हो, अहिले हामी यही प्रयासमा छौँ। नेपाल र थाइल्याण्डबीच श्रम सम्झौताका लागि थाइ श्रममन्त्रीसँग कुरा भइरहेको छ। यहाँ पनि एउटा समस्या छ। झण्डै ७५ हजार आप्रवासी (म्यान्मार, लाओस, बर्मालगायत देशबाट) नेपालीको ब्यवस्थापन गर्नु थाइ सरकारका लागि चुनौती छ। यसले गर्दा केही समय लागेको हो।

म आफैँ पनि दुई देशको सरकार, श्रम मन्त्रालय र सम्बन्धित पक्ष बसेर छलफल यस विषयमा कुरा गरिरहेको छु। विभिन्न चरणका छलफल भने भइ नै राखेका छन्। थाइ सरकारको नेपाली जनताप्रति विश्वास छ। त्यसैले छिट्टै दुई देशबीच श्रम सम्झौता हुनेमा हामी विश्वस्त छौँ। सम्झौता भएपछि रोजगारीको अवसर नेपालीको लागि धेरै हुनेछ। छोटो दुरीमा रहेको विकसित देशबाट हामीले सिक्नु पर्ने धेरै छन्।

धेरै नेपाली थाइल्याण्ड आउने, यहाँबाट भागेर युरोप जाने ट्रान्जिट पोइन्टका रुपमा पनि  यसलाई प्रयोग गर्छन्। राजदूताबासले यस विषयलाई कसरी हेरेको छ?

यो अहिले हाम्रो र नेपाल सरकारको लागि चुनौतीको विषय हो। यहाँ आएर नेपालीलाई भिसा दिँदैनन्। भिसा लिएर आउनु पर्छ। तर दलालले विभिन्न तरिकाबाट ल्याउँछन्। युरोप, अमेरिका र अष्ट्रेलिया पठाउने भनेर लाखौँ ठग्छन् र अलपत्र बनाएर भाग्छन्। अन्तिममा केही विकल्प नपाएपछि बल्ल राजदुताबासमा आउने गर्छन्। शुरुमा दलालले भिसा लाएपछि मात्रै पैसा दिने भन्दै ल्याउँछन् र विभिन्न बहानामा पैसा लिएर फरार हुन्छन्। यसलाई रोक्न थाइ निकायसँग कुरा भइरहेको छ र नेपालमा पनि यसलाई रोक्न जानकारीमूलक कार्यक्रमलाई जोड दिनुपर्ने देखिएको छ।

थाई नागरिकले नेपालमा लगानी गर्नसक्ने अवस्था कस्तो छ?

धार्मिक र सांस्कृतिक पक्षसँग दुई देशको राम्रो सम्बन्ध छ। बुद्ध धर्मको बाहुल्यले गर्दा पनि सबै थाइले नेपाललाई चिनेका छन्। जसले गर्दा थाई नागरिक नेपालमा लगानी गर्न इच्छुक छन्। यद्यपि हामीले लगानीको वातावरण बनाउन नसकेका कारणले थाइ लगानीकर्ता भित्र्याउन सकिएको छैन। लगानी गर्नेले सुरक्षित वातावरण खोज्छन्। अब राजनीतिक परिवर्तनसँगै स्थायी सरकार भएकोले लगानी गर्न तयार छन् । इन्भेष्टमेन्ट हटकेक जस्तो छ। सबैलाई चाहिएको छ। तर वातावरण बनाउन जरुरी छ। दुई देशका नागरिक बीचको सम्बन्ध जनस्तरमा जति प्रगाढ छ त्यहि अनुसारको आर्थिक सम्बन्ध बलियो हुन सकेको छैन।

थाइल्याण्डको राजनीतिक अवस्था कस्तो छ ?

थाइल्याण्ड राजतन्त्रात्मक ब्यवस्था भएको मुलुक हो। २०१४ मे २२ मा सैनिक कु भयो। अहिले सैनिक शासन छ। कन्स्टिच्यूसन ड्राफ्टिङ्ग कमिशनले संविधानको मस्यौदा तयार गर्‍यो २०१७ अप्रिल ६ मा। जनमत संग्रहबाट पारित भयो । अब २०१८/१९ मा चुनावको घोषणा गरेर निर्वाचित सरकारलाई नेतृत्व सुम्पने छन्। यहाँ बन्द हडताल केही हुँदैन। राजनीतिकारणले यहाँको अर्थतन्त्रलाई कुनै असर पार्दैन। नेसनल काउन्सिल फर पिस एण्ड अर्डर ( एनसिपिओ) मार्फत काम भइरहेको छ।

दुई देशको सुमधुर सम्बन्धसँगै अर्थतन्त्रको पक्षमा राजदुताबासले केही विशेष कार्यक्रम गरेको छ ?
पक्कै पनि सम्बन्धसँगै जुनसुकै मुलुकको स्वार्थ अर्थतन्त्रसँग जोडिएको हुन्छ। राजदूताबासले यसलाई विशेष रुपमा हेर्छ। बेलाबेलामा नेपालमा लगानीका अवसरहरुका बारेमा नेपाली राजदूताबासले अन्तर्क्रिया कार्यक्रम गर्दै आइरहेको छ। थाइल्याण्डबाट २०१६ मा ५६ हजार थाइ नेपाल गएका थिए। नेपाली आउने र थाई जाने बराबर जस्तो छ। थाइहरुको बसाइ नेपालमा बढ्न सकेको छैन। अधिकांश थाइहरु इण्डियाबाट लुम्बिनी जाने र दुई तीन घण्टा घुमेर फर्कने गरेका छन्।

त्यसका लागि हामीले विशेष प्याकेज मार्फत थाइहरुको बसाइ लम्ब्याउने योजना बनाउन जरुरी छ। थाइल्याण्डबाट ९८ प्रतिशत निर्यात हुँदा नेपालबाट जम्मा २ प्रतिशतमात्र आयात छ। आयातमुखी उत्पादन बढाउन पनि हामीले जोड दिइरहेका छौँ। कूटनीतिक पक्षबाट मैले सकेको पहल गरिरहेको छु।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्