आर्थिक वृद्धि र मुद्रास्फीति ६ प्रतिशत हुने: अर्थ मन्त्रालय

काठमाडौं- अर्थ मन्त्रालयले  बजेटको अर्धवार्षिक समिक्षा गर्दै चालुआर्थिक बर्षमा ६ प्रतिशकको आर्थिक वृद्धि हुने अनुमान गरेको छ। यस अघि बजेट मार्फत  ७.२ प्रतिशतको आर्थिक वृद्धिदर प्रतिशत हुने लक्ष्य तय गरिएको थियो। यस्तै ६ महिनामा ३.५ प्रतिशत रहेको मुद्रास्फीति  चालु आर्थिक वर्षको अन्त्य सम्ममा ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा पनि विनियोजित  १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट पूर्ण खर्च नहुने भएको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको ८४.६७ अर्थात १० खर्ब ८२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरेको हो। बजेटमा विनियोजन गरिएको  रकमको ९२ प्रतिशत चालु खर्च हुँदा पुँजीखर्च भने ७० प्रतिशतमा सिमित हुने भएको छ। गत वर्ष पुँजीगत खर्च ६५ प्रतिशतमा सिमित भएको थियो।

न्यून पुँजीगत खर्च

६ महिनामा विनियोजित बजेटको ३१.२३ प्रतिशत अर्थात ३ खर्ब ९९ अर्ब रुपैयाँ मात्र खर्च हुने सकेको छ। चालु खर्च लक्ष्यको ४१.२ प्रतिशत हुँदा पुँजीगत खर्च भने १४.३५ प्रतिशतमा सिमित भएको छ।

सरकारले पुष मसान्तसम्म ३ खर्ब ३५ अर्ब अर्थात लक्ष्य भन्दा ०.२९ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ।

राजस्व लक्ष्य बमोजिम सङ्कलन भइरहेको बताउँदै राजस्व सचिव शिशिर ढुंगानाले ७ खर्ब ३० अर्ब रुपैयाँ लक्ष्य भन्दा बढी राजस्व सङ्कलन हुने दाबी गरे।

अर्धबार्षिक समिक्षा गर्दै मन्त्रालयले चालु खर्चलाई कटौति गर्ने जनाएको छ। अर्थ सचिव शंकरप्रसाद अधिकारीले फागुन मसान्तसम्म पनि योजना सुरु नहुने कार्यक्रममा बिनियोजित बजेट खर्च गर्न नदिईने बताए। उनले भने, हामि उक्त रकम ‘सरेन्डर’ गर्न लगाउनेछौं।

रेमिटेन्स आय घट्यो

गत वर्षको तुलनामामा बैदेशिक रोजगारमा जाने मानिसहरुको सख्याँ १.८ प्रतिशतले घटेकाले रेमिटेन्स आयमा ०.५ प्रतिशतले गिरावट आएको मन्त्रालयले जनाएको छ।

रेमिटेन्स आयमा भएको गिरावट र आयातमा भएको वृद्धिले व्यापारघाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ३४ अर्ब रुपैयाँको आयात हुँदा केवल ४१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ।

अघिल्लो वर्ष ४५ वर्ष रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति ६ अर्ब ६६ करोड रुपैयाँले घाटामा गएको छ।

बिदेशी विनियम सञ्चितिमा पनि गत वर्षको तुलनामामा गिरावट आएको छ। हाल सरकार सँग १० खर्ब ६७ अर्ब रुपैयाँ बिदेशी मुद्राको सञ्चिति रहेको छष अहिलेको बिदेशी मुद्रा सञ्चितिले  ११ महिनाको आयात धान्न सक्कने मन्त्रालयले जनाएको छ।

राष्ट्रिय गौरबका आयोजनाको प्रगति निराशाजनक

श्रोत सुनिश्चित भएका राष्ट्रिय गौरबका आयोजनाको प्रगति पनि निराशाजनक देखिएको छ। चालुआर्थिक वर्षमा राष्ट्रिय गौरबका आयोजनामा ६३ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरिएकोमा १२ अर्ब ५ करोड रुपैयाँमात्र खर्च भएको छ।

चालुखाता ७५ अर्ब ७१ करोडले घाटामा हुँदा बजेट घाटा ३५ अर्ब ४७ करोड घाटामा रहेको छ। गत वर्ष समान अवधिमा चालु खाता १ अर्ब ८ करोडले र बजेट ४० अर्ब २२ करोडले बचतमा रहेको थियो।

बजेटको घाटालाई चालु खर्च घटाएर, राजस्व बढाएर र सुरुवात नभएका आयोजनाबाट रकमान्तर गरि पूर्ति गरिने अर्थ मन्त्रालयको योजना रहेको छ।

पुनर्निमाणका कामहरु पनि तिब्र गतिमा भईरहेकाले आगामी दिनमा देशको अर्थ तन्त्र चलायमान हुने अर्थमन्त्रालयले अपेक्षा गरेको छ।

चुनौती

गैर बजेट खर्च बढ्दा अपेक्षा गरे अनुरुपको बैदेशिक  बजेटरी सपोर्ट नआएकाले पनि अर्थतन्त्रका लागि आगामी दिनचुनौती पूर्ण हुने मन्त्रालयकोप्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै बहुवर्षीय ठेक्काहरु पनि चुनौतीको रुपमा रहेको अर्थमन्त्री खतिवडाले बताए। उनले भने, प्रारम्भिक चरणमा रहेका बहुवर्षीय ठेक्कालाई रद्द गरिने र चालु अवस्थाका ठेक्कालाई पनि परिमार्जन गरिने बताए।

करका दायरा बढाउने चुनौती रहेको भन्दै आगामी दिनमा श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाइने बिषयलाई कडाइका साथ कार्यान्वयन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सहभागिता मुलक पेन्सन कार्यक्रम सम्वन्धि विधेयकलाई संसदमा पेस गर्ने पनि अर्थ मन्त्रालयले तयारी गरेको छ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्